आइएमई ग्रुपद्वारा फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालन

काठमाडौं । आइएमई ग्रुपको डेढ अर्ब लगानीमा नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग, एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा आएको छ ।

बुधबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले काठमाडौंमा आयोजित कार्यक्रममा उद्योगको उदघाटन गरेका छन् । उद्योगबाट उत्पादित फाइबर सिमेन्ट बोर्ड तथा त्यसबाट निर्माण हुने विविध उत्पादनहरूलाई मन्त्री भण्डारीले औपचारिक रूपमा सार्वजनिक गरेका छन् ।

उद्योगमन्त्री भण्डारीले स्वदेशमा गुणस्तरीय, वातावरणमैत्री र अत्याधुनिक प्रविधिमा आधारित उद्योगको स्थापना हुनु नेपालको औद्योगिक विकासतर्फको महत्वपूर्ण पाइला रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशी कच्चा पदार्थ र स्थानीय स्रोतको प्रयोग गरी निर्माण क्षेत्रमा योगदान पु¥याउने गरी नयाँ उद्योग स्थापना गरेको बताए । उनले उद्योगबाट देशभित्र रोजगारी सिर्जना गर्ने र नेपालमा उत्पादन हुने भएकाले आयात प्रतिस्थापन भई ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिनबाट जोगिने बताए । उनले आत्मनिर्भर अर्थतन्त्रतर्फको मार्ग प्रशस्त गर्ने बताएका छन् ।

अध्यक्ष ढकालले स्वदेशी सीप, स्थानीय स्रोत र सम्भावनामार्फत नेपालभित्रै अन्तर्राष्ट्रिय स्तरका निर्माण सामग्रीको उत्पादन सम्भव भएको सन्देश उद्योगले दिएको बताएका छन् ।

आइएमई ग्रुप अन्तर्गत करिब डेढ अर्ब रुपियाँको लगानीमा स्थापना गरिएको यो उद्योग रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–६ मा अवस्थित छ ।

उद्योगमा कच्चा पदार्थ मिसावटदेखि बोर्ड कटिङ, प्रेसिङ र ड्रइङसम्मका सम्पूर्ण प्रक्रिया पूर्ण रूपमा अटोमेटेड प्रविधिमा आधारित छन् ।

उद्योगले दैनिक ७५ हजार स्क्वायर फिट सिमेण्ट फाइवर बोर्ड उत्पादन गर्न सक्ने क्षमता राख्छ । उत्पादित बोर्डहरू ४ फिट लम्बाइ, ८ फिट चौडाइँ, र ४ एमएमदेखि ३० एमएम मोटाइमा उपलब्ध छन् ।

बोर्डहरू लचकदार, अग्नि–प्रतिरोधी, घाम–पानीले असर नपर्ने, वातावरणमैत्री तथा अत्यन्तै टिकाउ छन् । फाइबर सिमेन्ट बोर्डको प्रयोग भवनको बाहिरी भाग, पाटीशन, फल्स सिलिङ, मोडुलर किचन, इको प्यानल लगायत विभिन्न संरचनामा गरिन्छ ।

यहाँसम्म कि इँटा र प्लास्टरको विकल्पमा पूर्ण संरचना निर्माण समेत गर्न सकिन्छ, जुन १०–१५ दिनमै तयार पार्न सकिने भएकाले यसको माग नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा समेत तीव्र रूपमा बढ्दो छ ।

प्राकृतिक प्रकोप जस्तै, भूकम्प, बाढी वा पहिरोका बेला आपत्कालीन संरचना निर्माणमा समेत यस उद्योगका उत्पादित बोर्डहरू छिटो, सस्तो र दिगो विकल्प बन्ने छन् । प्लास्टर वा रङ्गको झन्झट नहुने भएकाले समय र लागतमा उल्लेखनीय बचत हुनेछ ।

हाल करिब २०० जनाले प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी पाएका छन् । जसमा ९८ प्रतिशतभन्दा बढी स्थानीय जनशक्ति र ४० प्रतिशतभन्दा बढी महिला कामदार छन् । उनीहरूले प्रोसेससङदेखि प्याकिङसम्मका सबै काममा संलग्न छन् ।

Published : Wednesday, 2025 June 25, 5:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया