असई बनाइदिन्छु भनेर ठगी गर्ने काठमाडौंका क्षेत्री पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको सहायक निरीक्षक (असई) पदमा नाम निकालिदिने भन्दै ठगी गरेको आरोपमा ४७ वर्षीय सोम कौशिक क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले क्षेत्रीलाई पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

काठमाडौं महानगरपालिका–१५ का क्षेत्रीले झण्डै पाँच लाख रूपियाँ ठगी गरेको आरोप छ ।

क्षेत्रीले पीडितलाई असई पदमा नाम निकालिदिन्छु भनी विश्वास दिलाई ई–सेवा आईडी र विभिन्न बैंक खातामा ४ लाख ९१ हजार रकम ठगी गरेका थिए ।

प्रहरी टोलीले क्षेत्रीलाई सोमबार काठमाडौंको नागार्जुन नगरपालिका–७, रामकोटबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका क्षेत्रीलाई ठगीसम्बन्धी कसूरमा थप अनुसन्धान र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौं पठाइएको छ ।

Published : Wednesday, 2025 June 25, 10:15 am

फेसबुकबाट तपाईको प्रतिक्रिया