शिवपुरीमा कलेज हल अफ फेमद्वारा प्रधान सेनापतिलाई सम्मान

काठमाडौं । सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीमा नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देललाई कलेज हल अफ फेमद्वारा सम्मान गरिएको छ ।

शुक्रबार कलेजमा आयोजित अधिष्ठापन समारोहमा शिक्षाध्यक्ष उपरथी चोकबहादुर ढकालले प्रधान सेनापतिलाई सम्मानको प्रमाणपत्र प्रदान गरेका हुन् ।

विभिन्न शिक्षण संस्थाहरूबाट तालिम प्राप्त गरेका शिक्षार्थीहरू मध्ये विशेष नियुक्ति र पद हासिल गर्नेहरूलाई सम्मान गर्ने र उनीहरूको तस्बिर विशेष कक्षमा राखी सम्मान प्रकट गर्ने प्रचलन अनुरूप सैनिक कमाण्ड तथा स्टाफ कलेजमा उक्त समारोह आयोजना गरिएको हो ।

नेपाली सेनाको इतिहासमा सैनिक कमाण्ड तथा स्टाफ कलेजबाट दीक्षित हुने शिक्षार्थीमध्ये प्रधान सेनापतिको नियुक्ति पाउने महारथी सिग्देल तेस्रो हुन् ।

यसअघि महारथी प्रभुराम शर्मा (अ.प्रा.) र महारथी पूर्णचन्द्र थापा (अ.प्रा.)ले पनि उक्त सम्मान प्राप्त गरेका थिए ।

उक्त अवसरमा प्रधान सेनापति सिग्देलले सैनिक कमाण्ड तथा स्टाफ कलेजको निरीक्षण गर्नु भई कलेजको विविध पक्षबारे जानकारी समेत लिएका छन् ।

Published : Friday, 2025 June 13, 10:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया