पूर्वएसएसपीको नजरमा खुमबहादुर खड्का– अरुलाई बनाइदिए, आफू पतन भए

बसन्त कुँवर, पूर्व एसएसपी
सोसल मिडियामा पूर्व गृहमन्त्री खुमबहादुर खड्का ज्यूको भ्रष्टाचारबाट कमाएको सम्पत्ति सर्वोच्चको आदेशबमोजिम, उहाँ नै प्रमुख भई काम गरेको गृह मन्त्रालयले नै जफत गरेको समाचार पढें । नमज्जा लाग्यो । २०४७ सालपछि प्रहरी, प्रशासन तथा राष्ट्रिय अनुसन्धानका कर्मचारीहरूलाई को गृह मन्त्री हुन्छन् भन्ने चासो हुन थाल्यो । तीमध्ये चतुर र महत्वाकांक्षी कर्मचारीहरूले गृह मन्त्रीहरूलाई ‘म प्रजातान्त्रिक हुँ’ भन्दै, जुन पार्टीको गृहमन्त्री आउँथे, ‘म तपाईंको पार्टीकै कार्यकर्ता वा खलकको हुँ’ भनेर नजिकिन थाले । निर्वाचित, जेलनेल र त्यागबाट आएका तथा देश र जनताका लागि राम्रै काम गरौँ भन्ने सोच राखेका गृह मन्त्रीहरूलाई घर नै बनाइदिने, जग्गा किनिदिने, पैसा, सुरा, सुन्दरी र विलासिताको जीवनको स्वाद चखाइदिने गर्न थाले र यसरी आफ्नो व्यक्तिगत स्वार्थ सिद्ध गर्न थाले ।
आफ्नो पदको सही अर्थ, गरिमा र त्यो पदको सही कर्तव्य नबुझेका, प्रशासनिक ज्ञान नभएका तर, पार्टीले सरकार बनाउने बहुमत प्राप्त गर्नुपर्छ भन्ने मान्यता राख्ने गृहमन्त्रीहरूलाई केही चतुर प्रहरी र प्रशासकहरूले यसरी घुमाइदिए, यसरी उपयोग र दुरुपयोग गरिदिए, यसरी गलत पाठ र अभ्यास सिकाइदिए कि पछि उनीहरू समाजमा अत्यन्तै अलोकप्रिय मात्र होइन, जेल जानुपर्ने र भ्रष्ट कहलिनुपर्ने अवस्थामा पुगे । यसरी कर्मचारीहरूले नराम्रोसँग बिगारिदिएका एक त्यागी र असल आत्माका गृह मन्त्रीहरूमध्ये एक थिए खुमबहादुर खड्का पनि । अरू पनि हुनुहुन्छ ।
मैले टाढाबाट देखेको खुमबहादुर असल आत्माका नेता थिए । तर, त्यो संवेदनशील मन्त्रालय चलाउन आवश्यक पर्ने प्रशासनिक ज्ञान भने उहाँमा देखिएन । उहाँले गृहमन्त्रीको सही कर्तव्य र नैतिकताको महत्व बुझ्नै पाउनु भएन, किनकि बुझाउने नै कोही थिएन । मुख्य रूपमा प्रहरीहरूले उहाँलाई यसरी दुरुपयोग गरे कि एसपी तहका अफिसरहरू समेत उहाँकै सुत्ने कोठामा आधीरातसम्म बसेर सँगै मदिरा पिउँदै एयरपोर्ट जान, काठमाडौं जिल्ला जान वा को कारबाहीमा पर्छ भन्ने कुरा आफैं मिलाउँथे । आइजीपी हुन र भएकालाई हटाउन दावेदारहरू आधीरातसम्म एउटै कोठामा र अर्को बैठकमा पर्खिँदा पर्खिँदै निदाएका हुन्थे ।
आज खुमबहादुर जसरी बदनाम भई परिवार समेत संकटमा पर्ने अवस्थामा पुग्नुभयो, त्यसको ६० प्रतिशत कारण चतुर र खराब प्रहरी, प्रशासक, राष्ट्रिय अनुसन्धानका कर्मचारीहरू, आफ्नै नेता तथा कार्यकर्ताहरू नै थिए, जसले ती मन्त्रीबाट खुब तर मारे, पद पडकाए, धन कमाए । तर, उहाँको भने यस्तो दुर्दशा बनाइदिए । ४० प्रतिशत भने उहाँको आर्थिक र व्यक्तिगत जीवनको अनैतिकता, पार्टीलाई मजबुत बनाउने नाममा प्रहरी प्रशासनको दुरुपयोग गर्ने बानी र भविष्यमा संगठनमा पकड राख्दै प्रधानमन्त्री बन्ने आकांक्षाका लागि जे पनि गरिदिने गलत अभ्यास पनि थियो ।
उहाँ सरकार जोगाउन र ढाल्न जहाजमा सांसद भगाउन र लुकाउनदेखि गुण्डा, डन, तस्कर र अपराधीहरूसँग समेत संलग्न रहनुहुन्थ्यो भन्ने आरोप, उहाँको पदको गरिमाका लागि पटक्कै सुहाउने कुरा थिएन । हरेक गृहमन्त्रीले त्यो संवेदनशील पदमा रहँदा आफ्नो कर्तव्य, अर्थ, महत्व र देश र जनता प्रतिको जिम्मेवारीका साथै त्यो पदमा हुनुपर्ने उच्च नैतिकता र प्रशासनिक तथा कूटनीतिक क्षमताको अर्थ राम्ररी बुझ्न नसक्दा ती अन्तर्गतका कर्मचारीहरूको वृत्ति विकास पद्धति र देशको सुरक्षाले मात्र होइन, स्वयं उहाँहरूले पनि दुःख भोग्नु पर्ने अवस्था आउँदो रहेछ ।
खुमबहादुरले त्यो पदमा रही दाङ जिल्ला लागि धेरै गरे, धेरै कर्मचारी, कार्यकर्ता, पत्रकारहरूलाई बनाइदिए, तर आफू भने पतन भए । उहाँ असल आत्मा र त्यागी नेता नै हुनुहुन्थ्यो । तर, कर्मचारी र आफ्नै नेता तथा कार्यकर्ताहरूले यसरी बिगारिदिए कि उहाँले त्यो पदमा रहेर प्राप्त गरेका शक्ति, सामथ्र्य र अधिकारलाई सही कार्यान्वयन र उपयोग गर्नै जान्नुभएन । जानेको भए उहाँ भारतका गृहमन्त्री सरदार वल्लभभाई पटेल जस्तै सम्मानित भएझैँ नेपालको इतिहासमा पनि आदरणीय मन्त्री बन्न सक्नुभएको हुन्थ्यो ।
आज उहाँको नाम भ्रष्टाचारसँग जोडियो, किनकि उहाँको उठबस यस्तै अनैतिक कर्मचारी, कार्यकर्ता र अपराधीहरूसँग रह्यो । यो दुःखद छ । दुःख लाग्यो मलाई, जब यो माथिको समाचार पढें । मेरो प्रहरी जीवनमा उहाँबाट मलाई कुनै फाइदा नमिले पनि, मेरो लागि उहाँ आदरणीय, आदर्श व्यक्ति नभए पनि, उहाँ मेरो विभागीय मन्त्री हुनुहुन्थ्यो । उहाँको आत्माको चीर शान्तिको कामना गर्दछु ।
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया