के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?

तिलक मल्ल ‘क्षितिज’
विषय प्रवेश
थुप्रै टुटफुट विभाजन र एकताबाट बनेको पार्टी हो माओवादी । माओवादी बन्नुभन्दा अगाडि नेकपा (मशाल) हुँदै संयुक्त जनमोर्चा थियो । २०४६ सालको प्रजातन्त्र पश्चात २०४८ को आम निर्वाचनमा ९ सिट ल्याएर संसदको तेस्रो शक्ति समेत बन्यो । आम निर्वाचनपछि नेपाली कांग्रेसका गिरिजाप्रसाद कोइरालाको बहुमतको सरकार बन्यो । सरकार आन्तरिक कारणले ढल्यो । कोइरालाले २०५१ मा मध्यावधी चुनावको घोषणा गरे । जसलाई (मध्यावधीलाई) संयुक्त जनमोर्चा नेपालले मध्यावधी चुनाव बहिस्कार गर्ने नीति लिएर आफ्नो क्रान्तिको तयारी गर्ने योजना बनायो । तत्कालीन चुनावी पार्टी जनमोर्चा र आन्तरिक पार्टी एकता केन्द्रभित्र भावी क्रान्ति र चुनावको बहस चल्यो । क्रान्ति गर्ने उद्धेश्य सहित बहुमत सदस्यले माओवादी पार्टीको निर्माण गरे ।
जनयुद्धको सुरुवात र विरासत
जनयुद्ध आफैमा ऐतिहासिक कदम थियो । खासगरी दुर्गम र दुरदराज क्षेत्रबाट पहल गरिएको राजनैतिक जागरण एवम् सचेतना थियो । सुरुका दुःख कष्ट र संघर्षका बीच माओवादी फैलिदै गयो । संयोग मान्नु पर्छ त्यतिबेला पश्चिम नेपालका पहाडहरूका बनमा एउटा घाँस फैलियो । जसलाई बनमारा भनिन्छ । जसको विशेषता तिब्र विस्तार, जहाँ फ्याके पनि जाग्ने, जलाए पनि नष्ट नहुने, जसको कारण सारा वन ढाक्यो । कतिपयले यसलाई माओवादी झार पनि भन्न थाले । आफ्नो संघर्षको बीच तत्कालीन राज्य र त्यसका अबयब बिरुद्ध सफलता प्राप्त गर्दै गयो । खुकुरी र लठ्ठीबाट सुरु गरेको युद्धले स्वचालित हतियारसम्म प्रयोग गर्न सक्षम भयो । सीमित ब्यक्तिबाट सुरु गएिको अभियान ब्यापक जनलहरमा बदलिदै गयो । त्यसको लागि माओवादीले कठोर त्याग, तपस्या, अमूल्य क्षति र थुप्रै उतार चढाव व्यहोर्नु पर्यो । इतिहाँसमै आफ्नै जनसेना, जनसत्ता र जनकानुन समेत निर्माण गर्यो । २०६१ सालसम्म आउँदा करिव ८०/८५ प्रतिशत नेपाली भूगोलमा आफ्नो पकड देखाउन सफल भयो । जसलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्वतन्त्र संस्थाले समेत पुष्टि गरे । ठीक त्यतिबेलै तत्कालीन राजा ज्ञानेन्द्रले संसदीय राजनीतिमा ‘कु’ गरे । संसदवादी राजनीतिक दलहरूपनि ‘कु’का बिरुद्ध आन्दोलित भए । जसले गर्दा संसदवादी नेताहरू राजाको जेल, नेल, दमन र निगरानीमा परे । यसै परिवेशमा वामपंथी दलहरू र गिरिजाप्रसाद कोइरालाको भूमिकामा प्रसिद्ध सिलगुडी वार्ता, रोल्पा भेटघाट हुँदै माओवादी र संसदवादी दलहरूबीचमा १२ बुँदे सम्झौता भयो । त्यही सम्झौताको जगमा नेपालको राजनीतिले नयाँ मोड लियो । माओवादीको फौजी संघर्षको ब्याक सपोर्टमा १९ दिन चलेको आन्दोलन र जसलाई १९ दिने जनआन्दोलनको विजयसंगै संसदीय दलहरूमाथिको प्रतिबन्द हट्यो । नेताहरू मुक्त भए । अर्कोतिर माओवादी आन्दोलन शान्तिपूर्ण बाटोमा आउने वातावरण बन्यो । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा अन्तरिम सरकार निर्माण भयो । प्रधानमन्त्री गिरिजाप्रसाद काइराला र माओवादी अध्यक्ष प्रचण्डबीच बृहत शान्ति सम्झौतामा हस्ताक्षर भयो । शान्ति प्रक्रियाको सुरुवातसंगै माओवादी गाउँबाट शहरमा बिस्तार भयो । फल स्वरुप २०६४ को आम चुनावमा माओवादी देशकै ठूलो पार्टी बन्यो । प्रत्यक्षतर्फ एकल बहुमत नै प्राप्त गर्यो । यही सन्दर्भमा चर्चा गर्न खोजिएको विषय चाहीँ माओवादीको सफलता, उचाइँ, कमजोरी र बिरासत नै हो ।
माओवादी सफलताका आधारहरू
१. माओवादीसंग भएको सहि बिचार र कार्यदिशा ।
२. राष्ट्र र जनताको लागि सपनामा समर्पित क्रान्तिकारी पार्टी ।
३. कुशल नेतृत्व (प्रचण्डको नेतृत्वमा) टिम ।
४. कुशल नेतृत्वको आदेशमा परिचालित र संकल्पित हजारौँ नेता तथा कार्यकर्ताहरूको पंक्ति ।
५. गहिरो जनसम्बन्ध (अपार जनताको सहयोग र माया) ।
६. तत्कालीन शाषकहरूको ब्यथिति भ्रष्टचारी प्रवृतिले छाएको जनतामा निराशा ।
७. तत्कालीन शाषकहरूलाई गरेको अन्तर्राष्ट्रिय क्षेत्रको पहिला सहयोग पछि असहयोग ।
८. जनताको शुसासन, सुव्यवस्था र नयाँ नेपालप्रतिको उत्कृट चाहना ।
९. माओवादीले उठाएका स्वशासन, अधिकारका लागि जनप्रिय र जनपक्षी एजेण्डा ।
माओवादी कमजोर हुनका कारणहरू
१. माओवादीको बिचार र दृष्टिकोणमा अलमल पर्नु । खासगरी युद्धकालीन समयकै कार्यदिशालाई पकडी राख्नु । २०६४ मा भद्रगोलमा गोल हानेपनि शान्तिपूर्ण प्रतिस्पर्धाको रणनीतिमा अन्योल रहनु ।
२. पार्टी फुट र बिभाजनको सिकार हुनु । जस्तै आज माओवादी केही रेकर्डेट र सुन्नमा समेत आएका २८ टुक्रामा विभाजन भएको छ । जसको कारण जनमत र जनसम्बन्ध पनि बिभाजित हुने नै भयो ।
३. जनसम्बन्धमा दरार पर्नु – नेता कार्यकर्ताको जीवनशैलीमा आएको परिवर्तनका कारण नेता कार्यक्रकर्ता, जनतासंगको सम्बन्धमा संकट पर्नु ।
४. माओवादी नेतृत्वबाट जनअपेक्षा पूरा नहुनु ।
५. माओवादीमाथि देशभित्रका सबै पूराना शक्तिहरू र घेराबन्दी गर्न केन्द्रित हुनु । जो पछिल्लो गठबन्धन मार्फत बनेको सरकार मार्फत पुष्टि हुन्छ ।
६. माओवादीले आफ्नो विगत भुल्नु ।
७. माओवादी सरकारमा हुँदा गरेका राम्रा कामहरू जनतामा स्थापित गर्न नसक्नु ।
८. चुनावमा गठबन्धन र तालेमेलमा लाग्नु । जसको कारण आफ्नो धरातलमा समेत अन्य दललाई स्थापित गर्नु ।
९. एमालेसंग एकता गरी पार्टी मर्ज गर्नु र एकता समेत असफल हुनु ।
आफ्नो बिरासत फर्काउन गरिरहेको प्रयत्न
१. विकसित राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थित सहित शान्तिपुर्ण चुनावी अथवा शान्तिपूर्ण संसदीय प्रतिस्पर्धाको लागि स्पष्ट बिचार दृष्टिकोण, रणनीति र कार्यनीतिको अभावलाई आसन्न महाधिवेशनबाट हल गरि नयाँ समाजवादी मूल्यमान्यताको विकास गर्न लागिएको प्रयत्न ।
२. फुट र विभाजनमा परेका सम्पूर्ण माओवादी घटकलाई केन्द्रित गर्ने, अझ समाजवादी गणतन्त्रवादी र राष्ट्रवादी शक्तिहरूलाई समेत समेटेर बृहत मोर्चा र समाजवादी पार्टी समेत निर्माण गर्न गरिएको प्रयत्न ।
३. नेता कार्यकर्ताको सम्बन्धमा घनिष्टता बढाउने गरी बैठक, छलफल, विधि प्रक्रियागत तरिकाले निर्णय गर्ने र कार्यंन्वयनमा समेत जाने गरी आन्तरिक जीवनमा आवश्यकता अनुसार प्रतिस्पर्धात्मक ढंगले संगठनको अपडेट गर्ने प्रयत्न ।
४. अभियान मार्फत जनलेवलसम्म पुगि जनताको, शुभचिन्तकका सुझावहरू र गुनासाहरू संकलन गरिरहेको छ । विगत केही महिना अगाडि ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ चलाइएका अभियान र हालै हुलाकी राजमार्ग केन्द्रित र केही पछि हुने मध्य पहाडी अभियान मार्फत गरिएका र गरिने प्रयत्न ।
५. आफ्नो वर्ग, धरातल, शहीद परिवार, बेपत्तापरिवार र भुइँ मान्छेको सम्बन्धमा युद्धकालीन तरिकाले नवीकरण गर्न गरिएको प्रयत्न ।
६. नेता कार्यकर्तामा, कार्यकर्ता जनतामा जाने विधि तय गरी हरेक सदस्यको कार्यक्षेत्र मार्फत आफ्नो जिम्मेवारीमा जान गरेको निर्देशन र गरिएको प्रयत्न ।
७. राष्ट्र जनताको विषयमा वैकल्पिक भिजन र दृिष्टकोणमा क्लियर गर्दै पुराना पार्टीहरूमा अब्बल र फरक देखाउन गरिएको प्रयत्न ।
८. सरकारमा हुँदा गरेका जनपक्षीय कामहरू स्थापित गर्दै पछिल्लो पटक प्रचण्ड सरकारमा हुँदा गरेका भ्रष्टचार विरोधि अभियान र पहल मार्फत शुसासन र सुव्यवस्थाका लागि गरिएको प्रयत्न ।
९. चुनावी तालमेल हैन आफ्नो बलबुतामा, आफ्नै धरातलमा भरपरेर नयाँ एजेण्डा सहित जनतामा जान गरिएको प्रयत्न ।
निचोड
कठिन परिस्थितिबाट जन्मिएको, हुर्किएको, विकसित भएको, ठूलो बनेको र हेर्दाहेर्दै सानो बनेको अनुभव सहित आफूलाई अगाडि बढाउनै पर्दछ । अध्यक्ष प्रचण्डले माथि पेश गरिएका सफलता, असफलता र सम्भावनाका आधारहरूको नेतृत्व आफै गरिहेको प्रष्ट देख्न सकिन्छ । प्रचण्डको पहलकदमी र सक्रियताको निचोड फेरि यो देशको आशा विश्वास र भरोसाको वैकल्पिक शक्ति माओवादी नै हो भन्ने महशुस गराउनै पर्दछ । पूर्व–पश्चिम, हिमाल, पहाड, मधेश र गाउँ, शहरको यात्रामा प्रचण्डको भ्लादमीरपुर्टिन शैलीमा मोर्निङ्गवाकबाट सुरु हुने दिनचर्या, निरन्तर अन्तरक्रिया, छलफल, जनभेटघाट, जनसभा, संसद भित्रका सम्बोधन, धरातलमा आलोचित सहित एकागरता, प्रतिस्पर्धीसंग तिखो मुकावला अझ आवश्यक बलिदानको लागि खुल्ला तत्परता, विगतको सपना र आदर्श पूरा गर्ने प्रतिवद्धता सहित व्यक्त त्रियाशील हुटहुटीले माओवादीलाई पुरानो विगत र उचाइँमा पुर्याउन अवश्य सम्भव छ । माओवादीविरुद्ध देशकै पहिलो ठूलो दल र दोस्रो ठूलो दल मिलेर सरकार निर्माण गर्नु माओवादी शक्तिशाली भएको ठोस उधारण हो । यसलाई जनतासंगको तागतमा जोड्दै जानु, पार्टीभित्र विकास हुँदै गएको केन्द्रिकृत संकल्प, सत्ता गठबन्धनका विरुद्धको स्थानीय उपनिर्वाचनको परिणाम, स्ववियु निर्वाचन र पछिल्लो माओवादीको पक्षमा निर्माण भएको देशव्यापी लहरले पुष्टि गर्दछ ।
(लेखक माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन्)
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया