परराष्ट्रमन्त्रीको चासो र चिन्तापछि राजदूतद्वारा प्रिशा मृत्यु प्रकरणमा निष्पक्ष छानविन गर्न आग्रह

काठमाडौं । भारतका लागि नेपाली राजदूतावासले भारतो उडिसा राज्यस्थित कलिंगा ईन्स्च्युट अफ ईण्ड्रस्ट्रियल टेक्नोलोजी (किट)मा स्नातक तह प्रथम वर्षमा अध्ययनरत १८ वर्षीया नेपाली विद्यार्थी प्रिशा साहको शव फेला परेको जनाएको छ ।

शुक्रबार प्रेस विज्ञप्ति जारी गरेर राजदूतावासले छात्रावासको कोठामा प्रिशा साहको शव झुण्डिएको अवस्थामा बिहीबार राति भेटिएको जनाएको छ । घटनाको जानकारी प्राप्त हुना साथ शैक्षिक संस्थाका प्रतिनिधिहरू, प्रहरी अधिकारीहरू, विदेश मन्त्रालयका अधिकृत लगायत अन्य सरोकारवालाहरूसँग तत्काल सम्पर्क तथा छलफल गरि घटनाको बारेमा जानकारी लिइएको दूतावासले जनाएको छ ।

घटनाको बारेमा जानकारी लिइ सो घटनाको स्वतन्त्र एवम् निष्पक्ष तवरले अनुसन्धान हुन तथा शैक्षिक संस्थामा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीको सुरक्षाको प्रत्याभूति हुन जोड दिएको राजदूतावासको विज्ञप्तिमा उल्लेख छ ।

घटनाका सम्बन्धमा राजदूत डा.शंकर शर्माले उडिसाका मुख्यमन्त्री मोहनचरण माझी तथा प्रदेशका प्रमुख सचिवलाई सम्पर्क गरि घटनाको निष्पक्ष छानविन गर्न अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ ।

घटनाबारे जानकारी हुनेवित्तिकै परराष्ट्रमन्त्री डा.आरजु राणाले भारतस्थित राजदूतावासलाई उपयुक्त कार्य गर्न निर्देशन दिएकी थिइन् । डा.राणाले कुटनीतिक रुपमा घटनाको बारेमा गम्भीर चासो र चिन्ता जनाइसकेकी छिन् ।

Published : Friday, 2025 May 2, 12:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया