सुदूरपश्चिको बजेट कनिका छरेजस्तो गरी छुट्याउनु हुँदैन : परराष्ट्रमन्त्री डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले सुदूरपश्चिम प्रदेश अहिले मानव विकास सूचकांकमा निकै तल रहेको भन्दै सुधारका कार्यक्रम र योजनासहित बजेट ल्याउनुपर्ने बताएकी छिन् ।

आइतबार काठमाडौंमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयद्वारा आयोजित कार्यक्रममा डा.राणाले भनिन्, ‘प्रादेशिक तुलना गर्दा नेपालको मानव विकास सूचकांकमा सुदूरपश्चिम प्रदेश धेरै तल छ । मलाई लाग्छ हाल छैठौँ स्थानमा रहेको अवस्थामा उल्लेख्य सुधार गरेर माथि ल्याउन सकिने गरी हामीले आगामी ओजना र कार्यक्रमहरु निर्माण गर्नुपर्छ र त्यसैबमोजिमको बजेटको व्यवस्था गर्नुपर्दछ ।’

उनले कनिका छरेजस्तो गरी अनेक शीर्षकमा बजेट छुट्याउने मात्र भन्दा पनि कुन समुदायलाई प्रत्यक्ष या अप्रत्यक्ष लाभ पुग्छ र कुन क्षेत्रको विकास हुन्छ भनेर ठोस रुपमा योजना र कार्यक्रमहरू तय गर्ने र तोकिएको समयमा सम्पन्न गर्नेगरी कार्ययोजना बनाउनुपर्ने बताएकी छिन् ।

परराष्ट्रमन्त्री डा.राणाले कृषि, पर्यटन र पूर्वाधार निर्माण नै सुदूरपश्चिम क्षेत्रका प्रमुख प्राथमिकता हुनुपर्ने बताएकी छिन् । उनले कृषिजन्य उत्पादनलाई व्यवसायिक तथा आधुनिक कृषिसँग जोड्नुका साथै बजारीकरणमा विशेष ध्यान दिनुपर्ने बताएकी छिन् ।

डा.राणाले सुदूरपश्चिममा पनि देशका अरु भू–भागमा जस्तै मानिसहरूको बसाईंसराईले जमिन बाँझो छोड्ने प्रवृत्ति बढेकाले हाल खेतीयोग्य जमिन के कति छभन्ने यकिन गरेर उक्त जमिनमा आधुनिक र व्यावसायिक खेतीका लागि योजना बनाउनुपर्ने बताएकी छिन् ।

परराष्ट्रमन्त्री डा.राणाले सुदूरपश्चिम क्षेत्र धार्मिक, सांस्कृतिक तथा साहसिक पर्यटनका क्षेत्रमा निकै समृद्धि रहेकाले पर्यटन प्रवर्धन गर्न हस्पिटालिटी लगायतका पर्यटकीय पूर्वाधार निर्माणका क्षेत्रमा प्रभावकारी योजना र बजेटका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

‘यसका लागि हामी आफैँले पनि स्थानीय स्तरमा केही गर्नुपर्दछ’, उनले भनिन्, ‘जस्तो कि म भर्खरै कोशी प्रदेश गएकि थिएँ, त्यहाँ यस बर्षलाई कोशी भ्रमण बर्षका रुपमा मनाउने घोषणा गरिएको रहेछ ।’

परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन्, ‘हामीले हाम्रा सांस्कृतिक धरोहर र पर्यटकीय सम्पदाहरूलाई चिनाउनेगरी केही गरिरहनुपर्दछ ।’

Published : Sunday, 2025 April 27, 4:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया