खेलकुदको बजेटमा अन्याय, मोहन बस्नेतलाई गृहमन्त्रीका रुपमा हेर्न चाहन्छन् : मन्त्री महर्जन

काठमाडौं । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले खेलाडी र खेलकुद क्षेत्रका भावना बुझ्न सक्ने भन्दै पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतको प्रशंसा गरेका छन् ।

ललितपुरको सातदोबाटोमा आयोजित ‘प्रथम शेरबहादुर देउवा कप राष्ट्रिय कराँते प्रतियोगिता २०८२’लाई सम्बोधन गर्दै मन्त्री महर्जनले नेता बस्नेतलाई भावी गृहमन्त्रीका रुपमा कांग्रेसका कार्यकर्ताले हेर्न चाहेको बताए । उनले भने, ‘देशमा भइरहेको अराजक अन्त्यको निमित्त हकी स्वभाव शुद्धिबुद्धि भएको साहसिक क्षमतावान नेता देशभरिका कार्यकर्ताहरूको चाहनाअनुसार अबको गृहमन्त्री माननीय मोहनबहादुर बस्नेत ज्यूलाई बनाउनु पर्छ ।’

बागमती प्रदेश सरकारले बजेट निर्माणमा युवा तथा खेलकुद मन्त्रालयलाई सबैभन्दा थोरै सिलिङ दिएको भन्दै मन्त्री महर्जनले आक्रोश पोखेका छन् ।

उनले भने, ‘हामीलाई बागमती प्रदेशमा बजेटको सिलिङ दिएको छ । सबैभन्दा कम बजेटको सिलिङ युवा तथा खेलकुद मन्त्रालयको छ । कहाँ लगेर सुनाउने, कसलाई सुनाउने ?’

कांग्रेस नेता मोहनबहादुर बस्नेततर्फ लक्षित गर्दै मन्त्री महर्जनले भने, ‘अलिकति खेलकुदमा चासो राख्ने, खेलाडीलाई माया गर्ने, खेलाडीको भावना र मर्म बुझ्ने भएको कारणले गर्दा ल… दाई हाम्रो आदरणीय नेता मोहनबहादुर बस्नेतज्यूलाई मैले भनिदिएको छु । खेलकुदलाई अन्याय गरेको छ । केन्द्रले गर्‍यो गर्‍यो । बागमतीमा पनि अन्याय गरेको भनेको छु ।’

‘हाम्रो नेता मोहनबहादुर बस्नेतज्यूलाई भनिदिएको छु । अझै समय छ । बिग्री सकेपछि सपार्न गाह्रो हुन्छ । बिग्रिनुभन्दा अगाडि सपार्नु पर्छ । तपाईले यो कुरा सम्बन्धित ठाउँमा, मुख्यमन्त्रीज्यूलाई अर्थमन्त्रीज्यूलाई विशेष गरेर भेटेर हुन्छ कि, फोन गरेर हुन्छ, खेलकुदलाई प्राथमिकतामा राखेर काम गर्नुस् भन्नुपर्छ’, मन्त्री महर्जनले भने ।

उनले भने, ‘युवालाई हेर्न नसकिने भइसक्यो । खेलकुदलाई माया नगर्ने, बेवास्ता गर्ने, युवा र खेलाडीको भावना नबुझ्ने हो भने अबको दश वर्षमा युवाहरू नेपामा हेर्न पाइने छैन । नेपालमा वृद्धवृद्धामा मात्रै बाँकी रहन्छन् । बागमती प्रदेश सरकारले एउटा पालिकामा एउटा रंगशाला बनाउनुपर्छ । सरकारको नीति नै छ । एउटा पालिकामा एउटा रंगशाला बनाउन नसकेपछि एउटा जिल्लामा एउटा रंगशाला त बनाउनुपर्छ । ती खेलाडी गाउँ र पालिका, जिल्लामा खेल्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन्छन् ।’

मन्त्री महर्जनले भने, ‘हाम्रोबीचमा खेलाडीका लोकप्रिय र खेलाडीलाई नजिकबाट नियाली रहनुभएका, आफै पनि खेलाडी, खेलाडीहरूलाई एकदमै माया गर्नु हुने, नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य, पूर्वमन्त्री मोहनबहादुर बस्नेतज्यू पनि हुनुहुन्छ ।’

‘केन्द्र सरकारले, प्रदेश सरकारले स्थानीय तह सरकारले बजेट बनाउने प्रक्रिया शुरु भएको छ । केन्द्र सरकारको बजेट बन्ने अन्तिम तरखरमा छ । केन्द्रमा पनि मैले देखेको खासै सरकारले बजेट छुट्टाएको देखेको छैन । खेलाडीको भविष्य के हुने हो ? खेलाडी नेपालमा बसेर बाँच्ने अवस्था हुने कि नहुने ? खेलाडीहरू चिया र बिस्कुटमा खेल्नुपर्ने वातावरण भइरहेको छ । यसमा हाम्रा दुई जना नेताहरूले गम्भीर रुपमा लिनु हुन आग्रह गर्दछु’, उनले भने ।

‘तपाईहरूले देखिरहनु भएको छ । शेरबहादुर देउवा प्रथम राष्ट्रिय कराँते प्रतियोगिता भइरहेको छ । यहि ठाउँमा १३औँ सफा गेमको कराँतेको प्रतिस्पर्धा यहिँ भएको थियो’, महर्जनले भने, ‘यो म्यानेजमेन्ट हेरिरहनुभएको छ । यो साफ गेमभन्दा कम छैन । म ठोकुवाको साथ भन्छु । अल कराँते फेडरेशनको तयारीभन्दा कम छ ? साफ गेमको तयारी भन्दा कम छैन ।’

महर्जनले भने, ‘कुरा गर्न सजिलो छ । गर्न गाह्रो छ । हामीले सकिनसकी, दुःख गरेर खेलकुदलाई चिनाउने, कराँतेलाई चिनाउने म पनि एउटा व्यक्ति हुँ । म पनि १२ वर्षको उमेरदेखि यहि खेल क्षेत्रमा लागेका हुँ । म जे छु दावा गुरुङको कारण छु । दावा गुरुङले जस्तो प्रशिक्षण नेपालमा अरु कसैले गराउन सक्दैन ।’

‘अहिले नेशनल कोच भन्नेहरूले दावा गुरुङले जस्तो प्रशिक्षण दिन सक्दैनन् । उहाँको प्रशिक्षण निकै राम्रो छ । बलियो खेलाडी छन् । मैले २÷४ वटा गेम खेल । मसँग खेल्ने खेलाडीहरू अहिले रेफ्री भएर खेलिरहनुभएको छ ।’

उनले भने, ‘दुइटा गेम खेलेपछि नेपालमा रंगशालामा ५औँ राष्ट्रिय कराँते च्याम्पियन भएको थियो म त खेल्दै नखेली फस्ट भएँ । किन भने पहिला मैले देखाइसकेको थिएँ, खेल्नै डराउने । त्यस्तै मेरो गुरु दावा गुरुङ । मलाई स्मरण छ ।’

‘२०४० सालमा हेटौँडामा राष्ट्रिय कराँते च्याम्पियन भएको थियो । दावा गुरुङ फ्रि वेटमा खेल्नुभएको थियो । फ्रि वेटमा नाम लेखाउनेहरू २० जना थिए । दावा गुरुङ र फलानो भन्नेवित्तिकै कसैलाई टाइफाड हुने, कसैलाई डाइरिया हुने, कसैलाई मुटु काम्ने, काम ज्वरो आउने । उहाँ पनि खेल्दै नखेली फस्ट हुनुभयो । नाम त लेखायो । ए पोल, बी पोल हुन्छ । उहाँको अर्को पोलमा कोही पनि छैन । खेल्दै नखेली फस्ट हुनुभयो । दावा गरुङलाई राष्ट्रले अन्या गरेको छ’, महर्जनले भने ।

‘उहाँ कुनै पार्टीमा हुनुहुन्छ । पार्टीका मान्छे चाहियो दावा गुरुङ, अधिवेशन हुन लाग्यो दावा गुरुङ, चुनाव भयो दावा गुरुङ । युज एण्ड थ्रो भयो । उहाँको इतिहाँस हेर्नु पर्छ । अधिकांशलाई जागिर खुवाएको दावा गुरुङले हो’, युवा तथा खेलकुदमन्त्री महर्जनले भने ।

Published : Saturday, 2025 April 26, 10:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया