गोरु तस्करीको नयाँ रुटमा पनि लुम्बिनी प्रहरीको अबरोध, रामपुरमा दुई गाडी गोरु नियन्त्रण

रामपुर । इलाका प्रहरी कार्यालय, रामपुर, पाल्पाले दुई वटा पिकअप भ्यानबाट ११ वटा गोरुहरूसहित दुई मानिसहरूलाई नियन्त्रणमा लिइ आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

सोमबार इलाका प्रहरी कार्यालय रामपुर र प्रहरी चौकी केलादी पाल्पाको टोलीले ११ वटा गोरुहरूसहित पिकअप भ्यान तथा दुई जना चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय रापुरका प्रहरी प्रमुख (ईन्स्पेक्टर) रामबहादुर नेपालीले बताए ।

पक्राउ पर्नेमा प्रदेश २–०३ ००१ च ३३५६ नम्बरको पिकअप भ्यानका चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं. १७ बस्ने वर्ष २८ का सिशान थिङ र बा २१ च ८९२८ नम्बरको पिकअप भ्यानका चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २ बस्ने वर्ष २२ का महेश भोलानलाई नियन्त्रणमा लिइएको ईन्स्पेक्ट नेपालीले बताए ।

रामपुर नगरपालिका वडा नं. १ काँशीवनस्थित कालीगण्डकी करिडोर सडकखण्डमा अर्घाखाँचीबाट तनहुँको आँबुखैरेनीतर्फ जाँदै गरेका दुई वटा पिकअप भ्यानमा क्षमताभन्दा धेरै गोरुहरू राखेर ल्याएको ईन्स्पेक्टर नेपालीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

लुम्बिनी प्रदेश प्रहरीका प्रहरी प्रमुख दानबहादुर कार्कीले गोरु र गाई तस्करी नियन्त्रणलाई कडाइ गरेका थिए । कडाइ भएपछि तस्करहरूले पहाडी सडक हुँदै गाई र गोरु तस्करी गर्न थालेका थिए । तस्करहरूको योजनालाई पाल्पा प्रहरीले भताभुङ्ग बनाइदिएको छ ।

तस्करहरूले गाई र गोरुलाई झापा नाका हुँदै बंगलादेशतर्फ तस्करी गर्दै आएका छन् । पूर्वपश्चिम महेन्द्र राजमार्ग र हुलाकी सडकबाट गाई र गोरु तस्करी हुँदै आएको छ । तर, लुम्बिनी प्रदेशका प्रहरी प्रमुख कार्कीले गाई र गोरु तस्करीलाई नियन्त्रण गर्न अभियान नै चलाएका छन् ।

Published : Monday, 2025 April 21, 10:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया