परराष्ट्रमन्त्री डा.राणाद्वारा युएनस्केपको बैठकको अध्यक्षतासहित सम्बाेधन, अव्यवस्थति शहरीकरण विश्वमै समस्य
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले बढ्दो अव्यवस्थित शहरीकरणले विश्वमै समस्या ल्याएको र एशिया तथा प्रशान्त क्षेत्र पनि यसबाट प्रभावित हुनुपरेको बताएकी छिन् ।
साेमबारदेखि बैंककमा सुरु भएको संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युएनस्केप) को ८१औँ सत्रको अध्यक्षतापछि सम्बाेधन गर्दै डा.राणाले यस क्षेत्रले कैयौँ गम्भीर चुनौतीहरूको सामना गरिरहेको र तीमध्ये अव्यवस्थति शहरीकरण पनि एक रहेको बताइन् ।
बैठकमा एशिया र प्रशान्त क्षेत्रमा सहनशील र दिगो शहरी विकास मूल विषय रहेको छ । उनले भनिन्, “शहरी क्षेत्रहरू विकास, नवप्रवर्तन र अवसरका इञ्जिन पनि हुन् । तर, योजनाविहीन शहरीकरणले धेरै समस्याहरू निम्त्याइरहेको छ । त्यसैले हामीले राम्रोसँग योजनाबद्ध शहरी विकास गनुपर्छ ।”
उनले सहनशील र दिगो शहरी विकासमा जोड दिँदै यसका लागि समावेशी र हरित शहरहरूमा लगानी गर्नुपर्ने बताएकी छिन् । डा.राणाले शहरहरूबीचको सञ्जाललाई मजबुत बनाउनुपर्ने, जनसांख्यिक रूपान्तरणका लागि सशक्त योजना बनाउनुपर्ने र विविध स्रोतबाट वित्तीय सहयोगका उपायहरू अपनाउनुपर्ने बताएकी छिन् ।
परराष्ट्रमन्त्री डा.राणाले एसिया तथा प्रशान्त क्षेत्रमा वित्तीय जोखिम र सीमा, दिगो पूर्वाधारमा लगानीको अभाव, व्यापारको खण्डीकरण र संरक्षणवादी प्रवृत्ति, डिजिटल डिभाइडजस्ता समस्या देखिएकाे बताइन् । उनले डिजिटल डिभाइडका कारण शहरी र ग्रामीण समुदायबीचको सम्बन्धमा ठूलो खाडल पैदा भएकाले यसको सम्बोधन नगर्ने हो भने असमानता बढेर समावेशी वृद्धिलाई नै अवरुद्ध गर्ने बताइन् । उनले यस क्षेत्रको सामाजिक सुरक्षा प्रणाली अझै अपूरो र कमजोर अवस्थामा रहेकाले यसमा विश्वका उत्कृष्ट अभ्यासहरूबाट सिकेर लगानी बढाउनुपर्ने बताएकी छिन् ।
डा.राणाले एशिया तथा प्रशान्त क्षेत्र जलवायु–जन्य विपद्को अग्रपंक्तिमा रहेको उल्लेख गर्दै हाम्रा शहर र समुदायहरू विनाशकारी बाढी, खडेरी र चरम मौसमी दुर्घटनाहरूको जोखिममा रहेकाे बताएकी छिन् ।
उनले भनिन्, “पानीको स्रोत मात्र नभएर जीविकोपार्जन र सभ्यताको आधारका रुपमा रहेका हाम्रा हिमालयहरू जलवायु परिवर्तनको प्रभावबाट अकल्पनीय रुपमा प्रभावित भइरहेका छन् । त्यसैले जलवायु सहनशीलता तथा पूर्व सूचना प्रणालीमा लगानी बढाउनुपर्ने अहिलेको आवश्यकता हो ।”
वर्तमान अवस्थाको समाधान, भोलिको पुस्ताको भविष्य एवं समग्र पृथ्वीकै सुरक्षालाई सुनिश्चित गर्न नेपालले पनि यस क्षेत्रमा कदम चालिरहेको परराष्ट्रमन्त्री डा.राणाले बताएकी छिन् । उनले आगामी मे महिनामा नेपालले आयोजना गर्न लागेको सगरमाथा संवादमार्फत् जलवायु परिवर्तनको अवस्था र यसका चुनौतीको समाधानका लागि पहल गर्ने बताएकी छिन् ।
उनले यी सबैखाले समस्याको समाधानका लागि क्षेत्रीय एकता र सामूहिक सहकार्य आवश्यक रहेको बताइन् । उनले, “अहिलेको युगमा कुनै पनि मुलुकले यस प्रकारका सबै चुनौतीहरू एक्लै समाधान गर्न सक्दैनन् । हाम्रा सामूहिक प्रयासहरूलाई सार्थक बनाउन क्षेत्रीय सहकार्य अपरिहार्य छ ।” नेपाल समावेशी विकास, क्षेत्रीय सहकार्य र संयुक्त राष्ट्रसंघका मूल्य मान्यताहरूप्रति सदैव प्रतिबद्ध रहेको परराष्ट्रमन्त्री डा.राणाले बताएकी छिन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया