लेखक संघले गौतमलाई राष्ट्रिय पुरस्कार प्रदान गर्ने, केन्द्रीय विभागहरू गठन

काठमाडौं । नेपाली लेखक संघले राष्ट्रिय लेखक पुरस्कार– २०८२ को घोषणा गरेको छ ।

संघले केन्द्रीय विभागहरू पनि गठन गरेको छ । विभागहरूको संयोजक तोकिएका छन् ।

संघका केन्द्रीय अध्यक्ष वियोगी वुढाथोकीको अध्यक्षता बसेको पदाधिकारी बैठकले राष्ट्रिय लेखक पुरस्कार– २०८२ वैशाख १६ गते आख्यानकार ध्रुवचन्द्र गौतमलाई दिने निर्णय गरेको छ । १ लाख राशी रहेकोे पुरस्कार हरेक दुई वर्षमा प्रतिष्ठित साहित्यकारलाई संघले प्रदान गर्दै आएको छ ।

संघको हालै लुम्बिनीमा सम्पन्न आठौँ राष्ट्रिय अधिवेशन पश्चात् तपशिल बमोजिमका व्यक्तिहरूको संयोजकत्वमा नौ वटा केन्द्रीय विभागहरूको गठन भएको छ ।

कानूनी परामर्श विभागको संयोजकमा दामु मर्सिफूल, परराष्ट्र विभागको संयोजकमा युवराज डि.सी., अर्थ विभागको संयोजकमा विसुकुमार के.सी., प्रकाशन विभागको संयोजकमा डा. विष्णु के.सी.लाई जिम्मेवारी प्रदान गरिएको संघले जनाएको छ ।

नीति, अनुसन्धान तथा प्रतिष्ठान विभागको संयोजकमा मनोज न्यौपाने, सम्पर्क तथा समन्वय विभागको संयोजकमा डा.शशि थापा पण्डित, युवा प्रतिभा विभागको संयोजकमा डा.ईश्वरमणि अधिकारी, संचार विभागको संयोजकमा विमला तुम्खेवा, संगठन विभागको संयोजकमा भरत भण्डारी ( सोझो गाउँले)लाई जिम्मेवारी प्रदान गरिएको संघले जनाएको छ ।

जननायक वीश्वेवरप्रसाद कोइराला, महाकवि डा. लक्ष्मीप्रसाद देवकोटा, ऋद्धिबहादुर मल्ल, गोविन्द मल्ल ‘गोठाले’, वालकृष्ण सम लगायतको सक्रियतामा वि.सं २००८ सालमा स्थापना गरिको नेपाली लेखक संघले अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्दै आएको छ ।

संघलाई प्रा.डा.तुलसी भट्टराई, प्रा.डा.विष्णुविभू घिमिरे, प्रा.डा.कुलप्रसाद कोइराला, प्रा.डा.गोविन्द भट्टराई, कृष्ण धरावासी लगायतले पुनर्जीवत बनाएका छन् ।

Published : Wednesday, 2025 April 16, 2:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया