राप्रपालाई बल्खु वा सिफल चौरमा आमसभा गर्न सुझाव, सुरक्षाका कारण भृकुटीमण्डप दिन नमिल्ने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई भृकुटीमण्डपको आमभासको कार्यक्रमको स्थान परिवर्तन गर्न अनुरोध गरेको छ ।

आइतबार प्रशासकीय अधिकृत सुजनशुभ भ्लोनले राप्रपाको बागमती प्रदेश कार्यसमितिलाई पत्र पठाएर चैत २६ गते भृकुटीमण्डपमा गर्न लागेको आमसभाको कार्यक्रम सिफल चौर वा बल्खु क्षेत्रमा आयोजना गर्ने व्यवस्था गर्न अनुरोध गरेका हुन् ।

‘चैत २६ गते काठमाडौंको प्रदर्शनीमार्ग भृकुटीमण्डपमा आमसभा आयोजना गर्ने गरी यस कार्यालयको ईमेलमा चैत २२ गते शुक्रबार पत्र प्राप्त भएको छ’, प्रशासकीय अधिकृत भ्लोनले भनेका छन् ।

‘सो पत्रका सन्दर्भमा उक्त स्थानमा कार्यक्रम आयोजना गर्न अन्य आन्दोलनका कार्यक्रमहरू (शिक्षकहरूको आन्दोलन, राष्ट्रिय जनमोर्चाको कार्यक्रमहरू लगायत पूर्वनिर्धारित कार्यक्रमहरू) पनि भइरहेको हुँदा सुरक्षा संवेदनशीलताका हिसाबले माग भएको स्थानमा हाललाई कार्यक्रम आयोजना गर्न उपयुक्त नभएको हुँदा जिल्ला जिल्ला सुरक्षा समितिको निर्णय समेतको आधारमा सिफल चौर वा बल्खु क्षेत्रमा आयोजना गर्ने व्यवस्था हुन निर्णयानुसार अनुरोध छ’, प्रशासकीय अधिकृत भ्लोनले भनेका छन् ।

राप्रपाले चैत २६ गते आमसभाको कार्यक्रम राखेको छ । आमसभामा तीनकुने हिंसात्मक प्रदर्शनका क्रममा पक्राउ परेका आफ्ना नेता कार्यकर्तालाई छुटाउन र राजसंस्था ल्याउने दवाव दिने उद्देश्यले आमसभा गर्न लागेको छ ।

Published : Sunday, 2025 April 6, 9:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया