राजसंस्था फर्काउने नै हो भने पनि यस्तो कमाण्डरले कदापि सक्दैन
विजयकुमार
पोखराबाट फर्कदा पूर्वराजाको (वा शेखर कोइरालाको शब्दभावमा राजा) स्वागतमा एयरपोर्ट आएका जनताको तुलनामा, हिजो (शुक्रबार) फगत एकचौथाई मान्छे तीनकुनेमा जम्मा भएका थिए । त्यसपछि जे भयो जगजाहेर छ ।
अरुले होइन, आदरणीय पूर्वराजाले स्वयम् बुझ्नु पर्छ, नेपालमा कदाचित राजसंस्था फर्काउने नै हो भने पनि, यस्तो ‘कमाण्डर’ले किमार्थ सक्दैन जो आफ्नो गाडी प्रहरीमाथि हुइँकाएर निषेधित घेरा तोड्छ र तथानाम फोहर गालीगलौच गर्दै मैदानबाट भाग्छ ।
पूर्वराजाको व्यक्तित्वको शिष्टता, विनम्रता र धैर्यको रत्तिभर अंश नभएको मानिस कसरी राजसंस्था फर्काउने आन्दोलनको ‘कमाण्डर’ हुन सक्छ ? हो, प्रसाईंजीले उठाएका केही विषय जायज पनि छन् तर, उनको हदको जिम्मेवारी बोकेको भनिएको मान्छेको तरिका उचित देखिएन ।
कमाण्डर पनि कस्तो ? चार जना पुलिसले खोज्ने बित्तिकै फरार हुने मान्छे पनि कमाण्डर हुन्छ ? खोई त रवीन्द्र मिश्र त लुक्नु भएन, धवलशम्शेर त लुक्नु भएन ।
साथै, हिजो तीनकुनेमा निजी घरको छानामाथि चढेर, प्रहरीले अकारण अश्रुग्यास प्रहार गरेर, प्रदर्शनकारीलाई उत्तेजित बनाएको कुरा समाचारमा आएको छ । यो अत्यन्त गम्भीर विषय हो । यो कुराको निष्पक्ष न्यायिक जाँच हुन जरुरी छ ।
साथै, निजी सम्पत्ति लुटपाट गर्ने, आगजनी गर्ने र मिडिया संस्थानहरूमा हिंस्रक आक्रमण गर्ने, गराउनेहरूमाथि राज्यले, समाजले एक स्पष्ट र स्थिर दृष्टिकोण बनाउनै पर्छ ।
आन्दोलनका क्रममा तीनकुनेमा गोली लाग्दा कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको छ । तीनकुनेमा आगजनीमा परेको घरमा एभिन्युज टिभीका क्यामेरापर्सन सुरेश रजकले ज्यान गुमाए ।
पक्षबिपक्षका टिप्पणीकारहरूका लागि उनीहरू दुबै जना केही समय उत्तेजना र चर्चाका विषय हुनेछन् । मेरो मन र प्रार्थना चाहीँ यस बखत उनका परिवारजनका साथ छ । अरुका लागि उनीहरू मृतक संख्या हुनेछन् तर, परिवारका लागि आजन्म मनको घाउ बनेर बाँच्ने छन् ।
रुपचन्द्र बिष्टलाई सम्झदै छु, जसले दशकौं अघि मलाई भनेका थिए – ‘आफ्नो जिउमा हल्का घाउ, हल्का खत पनि नलागोस्, अरुका छोराछोरी शहीद भएको समाचार दिनहुँ सुन्न पाउँ, भन्ने रहर गर्ने मान्छेहरूको ठाउँ हो यो । बुझिस !’
लोकतन्त्रको सुन्दरता भनेकै विचारहरूको विविधता हो । तर, विविध विचारहरूको द्वन्द्व कसरी हल गर्ने ? कुन माध्यमबाट गर्ने ? यो कुराको निर्णय गर्न हामीले, विशेषत दुबै पक्षको नेतृत्वमा रहेका विवेकीहरूले शान्त भावले, उदार र वस्तुगत विश्लेषण र कठोर निर्णय गर्नुपर्छ । र, यसरी आएको निर्णयलाई लागू गराउन हिचकिचाउनु हुन्न ।
मेरा नियमित दर्शकलाई सम्झना हुन सक्छ, एक वर्षअघि नै हामीले ‘के राजा फर्कन्छन ?’ भन्ने पोडकास्ट गरेका थियौँ । त्यस बखत, त्यसलाई दुबैतिरका केही ‘बौद्धिक जानिफिकार’ले हांसेर उडाएका पनि थिए । केही छैन । जीवन यस्तै हो । जीवनले कहिले उचाल्छ, कहिले थचार्छ । दुबै अवस्थामा सम्भाव राख्न सक्नुमा जीवनको सार्थकता छ । म त्यो पोडकास्टको भाग–२ केही दिनमा ल्याउनेछु ।
व्यक्तिगत रुपले भन्ने हो भने, मलाई हिजो रातिदेखि ज्वरो आएको छ । बिहान सिटामोल खाएर यति लेखे । मलाई केही कुराहरू लेखेरभन्दा भिडियो पोडकास्टबाट अभिव्यक्त हुन सजिलो लाग्छ । सन्चो भएपछि पोडकास्ट गरौंला । अहिलेलाई संजालमा यति लेखे ।
संजाले वातावारण तातेको छ । तर, अनुभवले मलाई जटिल परिस्थितिमा धेरै नतात्न सिकाएको छ । फगत तातेर दुनियाँमा केही हुन्न भन्ने मेरो अनुभव छ । शेष ज्वरो ओर्लेपछि पोडकास्टमा । सबैकाप्रति शुभेच्छा ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया