कोहलपुर गोल्डकपमा रेसिङ साहारा फाइनल प्रवेश

कोहलपुर । मुख्यमन्त्री कोहलपुर गोल्डकपमा आयोजक कोहलपुर रेसिङ साहारा क्लब फाइनल प्रवेश गरेको छ ।

बुधबार प्लानिङ व्वाईज युनाइटेड क्लब काठमाडौंलाई पेनाल्टी सुटआउटमा हराउँदै कोहलपुर रेसिङ साहारा क्लब फाइनल प्रवेश गरेको हो । दोस्रो हाफको ४७ औं मिनेटमा कोहलपुर रेसिङ साहारा क्लबका श्याम बिडारीले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । खेलको ५६औँ मिनेटमा प्लानिङ व्वाईज युनाइटेड क्लब काठमाडौं ओमप्रकाश चौधरीले बराबरी गोल फर्काएका थिए ।

निर्धारित समयमा १–१ को बराबरी भएपछि पेनाल्टी सुटआउटमा प्लानिङलाई ४–३ ले हराउँदै कोहलपुर रेसिङ साहारा क्लब फाइनल प्रवेश गरेको हो । आयोजक कोहलपुर रेसिङ साहारा क्लबको यो दोस्रो जित हो । समूह चरणको पहिलो खेलमा कोहलपुर रेसिङ साहारा क्लबले लुम्बिनी फुटबल एकेडेमीलाई हराएको थियो ।

खेलको म्यान द म्याच कोहलपुर रेसिङ साहारा क्लबका गोलकिपर अमानत शेष भए । उनले नगद पाँच हजार रुपियाँ प्राप्त गरे । शेषलाई नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रसान्त विष्ट र कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता सुवेदीले नगदसहित ट्रफी हस्तान्तरण गरेका छन् ।

कोहलपुर रेसिङ साहारा फुटबल क्लब बाँकेको आयोजनामा फागुन १७ गतेदेखि प्रतियोगिता सुरु भएको हो । घाना र भारतीसहित आठ वटा टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टिमले आठ लाख रुपियाँ र द्वितीय हुने टिमले चार लाख रुपियाँ पुरस्कार पाउनेछन् । प्रतियोगिता फागुन २४ गतेसम्म चल्ने प्रतियोगिता संयोजक कर्ण बस्नेतले जानकारी दिए ।

Published : Wednesday, 2025 March 5, 10:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया