सभापति बानियाँद्वारा सातदोबाटोमा राष्ट्रिय करातेकाे प्रतियोगिता भव्य उद्घाटन

सातदोबाटो । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनको विशेष परिकल्पनामा चौथो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता २०८१ को भव्य रुपमा उद्घाटन भएको छ ।

शुक्रबार ललितपुरको सातदोबाटोस्थित कराते एकेडेमीको हलमा नेपाल कराते महासंघको तत्वाधान एवम् जिल्ला प्रमुख डोजो ललितपुरको आयोजनामा प्रतियोगिताको नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले उद्घाटन गरेका हुन् । शुक्रबार, शनिबार र आइतबार गरि ३ दिन प्रतियोगिता सञ्चालन हुनेछ ।

सभापति बानियाँ र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन खेलाडीहरूलाई जितको शुभकामना दिएका छन् । उनीहरूले प्रतियोगिताको सफलताको कामना पनि गरेका छन् ।

प्रतियोगिताको प्रमुख आयोजक ललितपुरको गोदावरी नगरपालिका रहेको छ । प्रतियोगिताको उद्घाटनका क्रममा झाँक्रीहरू समेत प्रदर्शन गरिएको छ ।

प्रतियोगितामा सात वटै प्रदेश तथा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरि २ सय १० खेलाडीले भाग लिनेछन् ।

प्रतियोगितामा ४० जना अफिसियल तथा विभिन्न ५० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकहरूको सहभागिता रहने अध्यक्ष दीपक श्रेष्ठले बताएका छन् ।

कुमुतेमा महिलातर्फ ४५, ५०, ५५, ६१, ६८ केजीमुनि, ६८ केजीमाथि तथा पुरुषतर्फ ५०, ५५, ६०, ६७, ७५, ८४ केजीमुनि र ८४ केजीमाथि प्रतिस्पर्धा हुनेछ । महिला पुरुषमा एकल र टिम काता पनि समावेश हुने आयोजकले जनाएको छ ।

पहिलो हुने टिमले नगद १ लाख प्राप्त गर्नेछ । द्वितीय हुने टिमले ५० हजार र तृतीय हुने टिमले २५००० नगद पुरस्कार र ट्रफी प्राप्त गर्नेछन् ।

वेस्ट प्लेयर प्रतियोगी महिला, पुरुष खेलाडी एकएक जनालाई जनही २५ हजारका दरले नगद पुरस्कार वितरण गरिनेछ ।

Published : Friday, 2025 February 28, 9:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया