लायन्सद्वारा तेह्रथुममा ८ सय ७० जनाको मुटुरोगको उपचार

तेह्रथुम । तेह्रथुममा भएको बृहत मुटुरोगको स्वास्थ्य शिविरबाट ८ सय ७० जना स्थानीय नागरिक लाभान्वित भएका छन् ।

शिविरमा मुटु सम्वन्धी परीक्षण, मधुमेह, उच्च रक्तचापलगायत परीक्षण गरिएको छ । ६ वटा गाउँपालिकाका स्थानीय नागरिक मुटुको परीक्षण गराउन आएका थिए ।

काठमाडौको गंगालाल अस्पतालका कार्यकारी निर्देशक डा.रवि मल्लको नेतृत्वमा चार जना वरिष्ठ चिकित्सक, चारजना मेडिकल अफिसर, नर्स, फार्मेसी टिम सहित लायन्स क्लबका पब्लिक रिलेशन अफिसर विष्णुप्रसाद भण्डारी सहितका जिम्मेर पदाधिकारीहरू काठमाडौंबाट आएर निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेका हुन् ।

पूर्वमन्त्री सीता गुरुङको प्रमुख आतिथ्यतामा भएको स्वास्थ्य शिविरलाई विशेष अवसरको रुपमा लिएर तेहथुम जिल्लाका नगर प्रमुख, सबै गाउँपालिकाका प्रमुखसहित अधिकांश जनप्रतिनिधिहरूको सहभागिता थियो ।

नगरपालिका, गाउँपालिकाले मुटु रोगको आशंका भएका सबै जिल्लावासीलाई उपचारका लागि आह्वान गरेका कारण नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

काठमाडौं जान नसक्ने, वरिष्ठ चिकित्सकलाई अहिलेसम्म देखाउन नसकेकाहरूका लागि स्वास्थ्य शिविर साच्चिकै ऐतिहासिक हुन पुगेको लायन लिडर विष्णुप्रसाद भण्डारीले बताए ।

लायन्स ईण्टरनेशनल डिष्टिक ३२५ अन्तर्गत लायन्स क्लब अफ काठमाडौं बुद्ध युनिभर्सलका अध्यक्ष गोपाल काफ्ले, आरसी कोइरालाले स्वास्थ्य शिविरमा बृद्धबृद्धाहरूले वरिष्ठ चिकित्सकबाट उपचार गराउन पाएकोमा सबैभन्दा बढी खुशी व्यक्त गरेको जानकारी गराएका छन् ।

तेहथुममा अहिलेसम्मकै ठूलो निःशुल्क स्वास्थ्य शिविरबाट नागरिकले पाएको सेवा र उनीहरूले व्यक्त गरेको खुशीले गर्दा यस्ता कार्यक्रम गाउँगाउँ लैजानुपर्दो रहेछ भन्ने थप अनुभूति र हौसला मिलेको डा.रवि मल्लले बताए ।

लायन्स क्लब जस्ता सामाजिक संस्थाले शहरमा होइन दुर्गम जिल्लाका गाउँगाउँसम्म कार्यक्रम लैजाने हो भने सबैभन्दा ठूलो सामाजिक सेवा र धर्म हुने म्यागलुन नगरपालिकाका मेयर संजय तुम्वाहाम्फेले बताए । उनले लायन्स क्लब र वरिष्ठ चिकित्सकहरूप्रति विशेष आभार व्यक्त गरेका छन् ।

८ सय७० जनामध्ये धेरैलाई औषधि दिइएको थियो । ८ जना मेजर अप्रेशन गर्नुपर्नेहरूलाई काठमाडौं गंगालाल अस्पताल लगेर निःशुल्क उपचार गरिने भएको छ ।

काठमाडौं लैजाने जिम्मेवारी लायन्स क्लबले लिएको छ । अप्रेशन लगायतको सम्पूर्ण जिम्मेवारी अस्पतालले लिने भएको छ ।

Published : Tuesday, 2025 February 18, 11:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया