परराष्ट्रमन्त्रीको कुटनीति पहलको तरुण दलद्वारा प्रशंसा, प्रकृतिको निधनप्रति मर्माहत

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले भारतको कालिङ्गा ईन्स्टिच्युट अफ इन्डस्ट्रीयल टेक्नोलोजी (केआईआईटी)मा नेपाली चेली प्रकृति लम्सालको असामदयिक निधनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

मंगलबार अध्यक्ष गुरुङले विज्ञप्ति जारी गरेर असामान्य परिस्थितिका कारण नेपाली विद्यार्थी प्रकृति लम्सालको निधनले मर्माहत बनाएको बताएका छन् ।

‘घटना के कति कारणले हुन गयो भनी तुरुन्तै चासो र चिन्ता व्यक्त गर्दै परराष्ट्रमन्त्री डा.आरजु राणाज्यूले भारतस्थित नेपाली राजदूत र नेपालस्थित भारतीय राजदूत एवम् कलेजका प्रतिनिधिहरूसँग सम्पर्क र समन्वय गरे पश्चात डा.आरजु राणाको सफल परराष्ट्र कुटनीतिक कदमले नेपाल फर्किन लागेका नेपाली विद्यार्थीलाई स–सम्मान कलेज व्यवस्थापनले फिर्ता बोलाएको छ’, विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष गुरुङले भने, ‘नेपाल तरुण दल केन्द्रीय कार्यसमिति नेपाल सरकार परराष्ट्रमन्त्री डा.आरजु राणाज्यूको सक्रियताको प्रशंसा गर्दै धन्यवाद प्रकट गर्दछ ।’

‘नेपाली विद्यार्थीप्रति गरिएको दुर्व्यवहारमा संलग्न कर्मचारीहरूलाई कलेज प्रशासनले निष्कासन र निलम्बन गरेको छ’, गुरुङले भने, ‘निजहरूलाई कानूनी दायरामा उभ्याउने कुरा समेत कलेज प्रशासनले तदारुकता देखाएको छ ।’

Published : Tuesday, 2025 February 18, 2:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया