सहकारी ठगका लागि शहीद हुन्छौँ भनेको पनि सुनियो : रामहरि खतिवडा
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कानूनसम्मत तरिकाबाट राज्यले गरेको कामप्रति कसैको विरोध र समर्थन नरहेको बताएका छन् ।
पूर्वगृहमन्त्री समेत रहेका रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगमा पक्राउ परेपछि मंगलबार प्रतिक्रिया दिँदै खतिवडाले अदालतको अनुमति लिएर प्रहरीले अनुसन्धानका लागि पक्राउ गरिएको बताए ।
उनले भने, ‘अहिले भने रविजीले अलि बढी स्टेनबाजी गरिरहनु भएको छ । कानूनलाई सहयोग गर्छु भन्ने । कानूनको धज्जी उडाउने काम भइरहेको छ ।’
‘जो सुकै होस् गलत गर्ने मान्छे सजायको भागेदार हुनुपर्छ । रविमात्र हैन रविभन्दा ठूलो पदमा कोही छन् र अन्य पार्टीमा पनि छन् भने कारबाही हुनुपर्छ’, उनले भने ।
‘रविजीलाई धेरै पहिला देखिनै म पक्राउ पर्छु भन्ने अनुमान नै रहेछ । पार्टी अफिसमा पनि धेरै पटक गएर बस्नु भएको छ । चीन गएका साथीहरूलाई पनि विदेश भ्रमण गर्न नदिएर नेपाल बोलाउनुभयो’, उनले भने ।
‘रविजीलाई भित्रैदेखि डर रहेछ । पुलिसले पक्राउ गर्छ गर्दैन थाहा थिएन । पक्राउ गर्नुपूर्व नै राष्ट्रिय झण्डासहितको भिडियो तयार पारेर राख्नु भएको रहेछ’, उनले भने, ‘पक्राउ परेलगत्तै सार्वजनिक गर्नुभयो ।’
‘उहाँ चै विद्रोही समूह हमासले झै पहिलाबाटै भिडियो तयार पारेर बसिरहनु भएको रहेछ । किन गर्नुभयो ? हामीले त के भनेका थियौं भने उहाँलाई जुन समयमा हुन्छ, पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री हो पोखरा लैजादाँ एकदमै सुरक्षितसाथ लैजानु पर्छ भनेर । लैजाँदा उत्शृंखलता र उदण्डता प्रदर्शनपनि गर्नुहुँदैन उहाँले जस्तो भनेर पनि भन्यौं’, खतिवडाले भने ।
‘रविजीलाई हेलिकप्टर, प्लेन र सडकबाट पोखरा जाने भनेर सोधिएको थियो’, खतिवडाले भने, ‘रविजीले चितवनका जनतासँग भेटेर सडकबाट जाने भन्नुभएछ । त्यहीँ भएर उहाँले एकदुई दिन अघि नै चितवनबाट जितेको सांसदलाई चितवन र तनहुँबाट जितेको सांसदलाई तनहुँ पठाउनु भएको रहेछ ।’
‘रविजीको निर्वाचन क्षेत्रभित्र पर्ने मुग्लिनमा १० हजारजति मान्छे उतार्ने । सम्बोधन गर्ने र फूलमाला लगाएरमात्र पठाउने । मानिसहरूको उपस्थिति ढेड दुईसयमात्र भयो’, खतिवडाले भने, ‘दुवै सांसदहरू बाटामा उपस्थित पनि भएका थिए । मध्यराति ती ठाउँमा प्रदर्शन भएका छन् । दुवै पक्षका नारावाजी पनि सुनियो, सरकारी ठग मुर्दावाद भनेको पनि सुनियो, रवि दाइ हाइहाइ, हामी ज्यान दिन तयार छौं भनेको पनि । उहाँसँगै श्रीमती जानु भएको थियो । पार्टीका सबै नेताहरूलाई गाडीको व्यवस्था गरेर पोखरा पु¥याइएको थियो । उहाँबाहेकका २० जना सांसदहरू पनि पोखरा पुगेका थिए । पोखरामा सांसदहरूले हामी ज्यान दिन तयार छौं, शहीद हुन तयार छौं भनेको पनि सुन्दै थिए ।’
खतिवडाले भने, ‘कस्तो अचम्म, ठगीका लागि शहीद हुन तयार छौं भनेर भन्ने । फेरि ती सांसदहरू जनमतमा प्रत्यक्ष निर्वाचित भएर आएको जस्तो मलाई लागेन । निगाहाबाट आएका केही साथीहरू हुनुहुन्छ । कानून सबैका लागि लागू हुन्छ । हिजो खुमबहादुर खड्का, बालकृष्ण खाण, कृष्णबहादुर महरा, टोपबहादुर रायमाझीलाई पक्राउ गरेको मुलुक हो ।’
‘देशभरिका साथीहरू पोखरा आऊ, खाउ बस भन्नलाई हो कि ? पिकनिक मनाउन गएको हो कि ? यो उर्दी लगाउने पद्यति ठीक भएन’, खतिवडाले भने, ‘पञ्चायतकालमा जस्तो रास्वपाले उर्दी लगायो । भरखर बनेको पार्टी हो । अनुभवको कमी होला । उहाँहरूले यस्ता हर्कत बन्द गर्नुपर्छ ।’
लामिछाने आफ्नो समितिको सदस्य रहेको भन्दै खतिवडाले उनी उपस्थिति हुँदा र नहुँदा कुनै असर नपर्ने बताए ।
संसद सचिवालयका महासचिवले लामिछाने पक्राउ परेको जानकारीसहित लेखेको पत्र समितिलाई प्राप्त भएको खतिवडाले बताएका छन् । लामिछानेलाई निलम्बनको प्रकृया पनि अगाडि बढ्ने उनले बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया