डा.राणाले परराष्ट्र मन्त्रालयको नेतृत्व सम्हालेपछि सय दिनमै उल्लेख्य प्रगति
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ समेत रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेतृत्व सम्हालेको एक सय दिनमा उल्लेख्य कामहरू भएका छन् ।
परराष्ट्र मन्त्रालयअन्तर्गत विभिन्न मुलुकसँगको सम्बन्ध थप सुदृढ हुनुका साथै उच्चस्तरीय भ्रमणहरू आदानप्रदान भएका छन् ।
सोमबार परराष्ट्र मन्त्रालयले सरकार गठन भएको पहिलो सय दिनसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ । यो अवधिमा संयुक्त राष्ट्रसंघको ७९औँ महासभा तथा एसियन कोअपरेशन डाइलगको शिखर सम्मेलनमा उच्चस्तरीय प्रतिनिधित्व गर्ने काम भएको र ती मञ्चहरूमा नेपालको प्रभावकारी उपस्थिति रहेको मन्त्रालयले जनाएको छ ।
सन् २०२४ सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेको उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी भएको, २–३ अक्टोबर २०२४ मा कतारमा सम्पन्न एसिया कोअपरेशन डायलगको शिखर सम्मेलनमा परराष्ट्रमन्त्री डा.राणाको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी भएको थियो ।
उच्चस्तरीय भ्रमण आदानप्रदानले द्विपक्षीय सम्बन्ध थप सुदृढ भएको मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री डा.राणाले भदौ २ देखि ६ गतेसम्म भारतको औपचारिक भ्रमण गरेकी थिइन् । डा.राणाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् ।
ओमानका परराष्ट्रमन्त्री सयीद बद्र विन हमद विन हमद अल्बुसैनीले गत भदौ १० र ११ गते नेपालको भ्रमण गरेका छन् ।
परराष्ट्रमन्त्री डा.राणाले गत असोज ५ देखि १७ गतेसम्म क्यानडा, संयुक्त राज्य अमेरिका र कतारको उच्चस्तरीय भ्रमण गरेकी छिन् ।
सरकार गठनको यो समयमा पोर्चुगलमा नेपाली राजदूत नियुक्तिको सिफारिस तथा संसदीय सुनुवाइ सम्पन्न भई सम्बन्धित मुलुकको सहमति प्राप्त हुने प्रक्रियामा रहेको छ ।
परराष्ट्र मन्त्रालय तथा नियोगहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न भएको छ ।
नेपाल–ओमान द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक गत साउन २३ गते परराष्ट्र सचिवस्तरमा ओमानको मस्कटमा सम्पन्न भएको छ ।
राहदानी खरिदका लागि बोलपत्र आह्वान गर्ने तयारी अन्तिम चरणमा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाली कांग्रेस र एमालेबीच सहमति भएर बनेको सरकारले एक सय दिन पूरा गरेको छ । कांग्रेसको समर्थनमा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री बनेका छन् । ओली सरकारको कात्तिक ६ गते सय दिन पुगेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया