सहकारी ठगी र संगठित अपराध सम्बन्धी मुद्दामा लामिछाने पक्राउबारे संसदलाई जानकारी

काठमाडौं । सहकारीको करोडौं रकम ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धानका लागि रास्वपा सभापति एवं चितवन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य रवि लामिछाने पक्राउ परेको सूचना संसद सचिवालयले प्रकाशित गरी जानकारी दिएको छ ।

शनिबार संघीय संसदका महासचिव पदमप्रसाद पाण्डेयले रास्वपाका सभापति एवम् सांसद लामिछाने पक्राउ परेको सूचना प्रकाशित गरी जानकारी दिएका हुन् ।

सूचनामा भनिएको छ, ‘कास्की जिल्ला अदालतको मिति २०८१/०७/०२ गतेको पक्राउ अनुमतिबमोजित फौजदारी कसुरको अनुन्धानका क्रमममा पक्राउ गरिएकाले नेपालको संविधानको धारा १०३ को उपधारा (६) बमोजिम जानकारी गराइएको भन्ने समेत व्यहोराको जिल्ला प्रहारी कार्यालय, कास्की, अपराध अनुसन्धान तथा कारबाही शाखाको सम्माननीय सभामुखज्यूलाई लेखी आएकाले सूचना प्रकाशन गरिएको छ ।’

प्रहरीले कास्की जिल्ला अदालतको पक्राउ अनुमतिका आधारमा शुक्रबार काठमाडौंबाट रास्वपा सभापति लामिछानेलाई पक्राउ गरी पोखरा लगेको थियो ।

Published : Saturday, 2024 October 19, 9:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया