निजामतीमा जस्तै गुल्मी राजनीतिमा पनि पहिलो नम्बरमा पर्नुपर्छ : सभापति खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती कर्मचारीको क्षेत्रमा गुल्मी जिल्ला पहिलो नम्बरमा पर्न सफल भएको भन्दै प्रशंसा गरेका छन् ।

शनिबार काठमाडौंको प्रदर्शनीमार्गमा नेपाली कांग्रेस गुल्मी-काठमाडौं सम्पर्क समितिले आयोजना गरेको दशैँ, तिहारको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले निजामती कर्मचारीहरूको क्षेत्रमा गुल्मी अब्बल रहेको बताए ।

सभापति खतिवडाले गुल्मी जिल्ला राजनीतिमा पनि एक नम्बर बन्नु पर्ने बताएका छन् । उनले गुल्मीका कांग्रेस नेता चन्द्र भण्डारी असल व्यक्तित्व रहेको भन्दै गुल्मीले चन्द्र भण्डारी जस्तै अरु नेताहरू पनि जन्माउनुपर्ने बताए ।

सभापति खतिवडाले कांग्रेसले मुलुकमा राम्रो व्यवस्था ल्याएको भन्दै कांग्रेसको राजनीति बाटोमा सबै हिँडेको बताए । यो पनि कांग्रेसका लागि उपलब्धि रहेको खतिवडाले बताए ।

उनले भने, ‘संविधान नमान्नेलाई कांग्रेसले संविधान मान्ने बनायो । बहदल नमान्नेहरूलाई बहुदल मान्ने बनायौँ । गणतन्त्र नमान्नेलाई कांग्रेसले गणतन्त्र मान्ने बनायौं । यी सबै हाम्रा उपलब्धी हुन् ।’

कांग्रेस नेता खतिवडाले अहिले नयाँ राजनीतिक शक्तिहरू उदाएको भन्दै उनीहरूलाई पनि सहि बाटोमा ल्याउने दायितव र जिम्मेवारी कांग्रेसको रहेको बताएका छन् ।

सभापति खतिवडाले नयाँ राजनीतिक शक्तिहरूलाई मूल राजनीतिमा ल्याउन कांग्रेसले नेतृत्व गर्नुपर्ने बताएका छन् ।

कार्यक्रममा कांग्रेस नेता दीपक गिरी, चन्द्र भण्डारी, मोतीलाल भण्डारी, खिलध्वज पन्थी लगायतको उपस्थिति रहेको थियो ।

Published : Saturday, 2024 October 5, 6:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया