मुकुल ढकाललाई पार्टीबाट हटाउन विवादित सभापति लामिछानेद्वारा अन्तिम अस्त्र प्रहार

काठमाडौं । सहकारीको करोडौं रुपियाँ अपचलन र ठगी गरेको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले डा. मुकुल ढकाललाई पार्टीको साधारण सदस्यता समेतबाट हटाउन प्रपञ्च रचेका छन् ।

सभापति लामिछानेले ढकाललाई २४ घण्टे स्पष्टीकरण सोधेर पार्टीको साधारण सदस्यता समेत नरहने गरी हटाउन लागेका हुन् । आफ्नो आलोचना नरुचाउने लामिछानेले ढकालाई सबैभन्दा ठूलो समस्या देखेका छन् ।

सभापति लामिछानेको निर्देशनमा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बुधबार पार्टीको साधारण सदस्यबाट किन निस्कासन नगर्ने ? भन्दै २४ घण्टे स्पष्टीकरण सोधेका छन् । २४ घण्टे स्पष्टीकरण सोधेपछि ढकाललाई पार्टीबाटै हटाउन लागेको र कानूनी छिद्र खोजेको पुष्टि भएको छ ।

सभापति लामिछानेले असार २५ गते ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट पदमुक्त गरेका थिए । ढकाललाई रास्वपाले पार्टी निर्णय चित्त नबुझेमा पुनरावेदन गर्न समय दिएको थियो ।

पुनरावेदन नदिएर सञ्चार माध्यमहरूमा नेताहरूको छवि, इज्जत र प्रतिष्ठा धमिल्याउन खोजेको, पार्टीका शुभचिन्तक भड्काउन खोजेको, पार्टीभित्र भ्रम सिर्जना गर्न खोजेको भन्दै रास्वपाका सभापति लामिछानेले ढकाललाई स्पष्टीकरण सोधेका थिए ।

रास्वपाले ढकाललाई सोधेको २४ घण्टे स्पष्टीकरण पत्रमा भनिएको छ, ‘साथै यसबीचमा पार्टीलाई समाप्त पार्ने षड्यन्त्रपूर्ण ढंगले अन्य दलका नेताहरूसँग भेटेको सूचना प्राप्त भएको छ ।’

ढकालले केही समयअघि प्रधानमन्त्री केपी ओलीलाई भेटेर सुझाव पत्र बुझाएका थिए । प्रधानमन्त्री ओलीलाई ढकालले भेट गरेको कुरा सभापति लामिछानेलाई मन परेको छैन ।

रास्वपाका सभापति लामिछानेले ढकाललाई सदस्यता किन खारेज गर्न नपर्ने हो आफ्ना आधार र प्रमाण तथा भनाइ २४ घण्टाभित्र स्पष्टीकरण दिनसमेत भनेका छन् ।

सभापति लामिछाने विभिन्न काण्डहरूमा पर्दै आएका छन् । सहकारी ठगी काण्डमा संसदीय छानविन समितिले लामिछानेविरुद्ध अनुसन्धान गरिरहेको छ ।

Published : Thursday, 2024 August 15, 9:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया