रवि लामिछानेप्रति लक्षित गर्दै ओलीले दिए सहकारी ठगलाई कारबाही गर्ने धम्की
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेप्रति लक्षित गरेर जोसुकै भए पनि सहकारी ठगलाई कानूनी कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने प्रस्ताव पेश गर्दै ओलीले सुशासन पनि सरकारको पाँच प्राथमिकतामध्ये एक भएको बताए ।
सहकारीको करोडौं रकम अपचलन र ठगी काण्डमा मुछिएका सभापति लामिछानेविरुद्ध छानविन गर्न संसदीय समिति समेत गठन भएको छ ।
‘एउटा खुलस्तै भन्न चाहन्छु दुनियाँका अगाडि, दुनियाँले सुन्ने गरी भन्न चाहन्छु, भ्रष्टाचार गर्दैनौं, भ्रष्टाचार सहदैनौं, कसैलाई भ्रष्टाचार गर्न दिन्नौं’, ओलीले भनेका छन् ।
ओलीले भ्रष्टाचार र अख्तियारको दुरुपयोगसँग जोडिएका विषयको छानबिन तथा अनुसन्धान गर्ने बताएका छन् ।
भ्रष्टाचारी एकदिन कानूनको कठघरामा पुग्नेछ भन्ने विश्वास समाजमा स्थापित गराउनु सरकारको प्राथमिकता भएको ओलीले बताएका छन् ।
उनले भने, ‘यसमा ढुक्क भए हुन्छ, कुनै कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारी उपर कानून कारबाही अगाडि बढाउँछौं ।’
‘सहकारी पीडितका सम्बन्धमा उचित निर्णय लिने छौं’, उनले भने, ‘जोसुकै भए पनि सहकारी ठगलाई कानूनी कारबाही गर्नेछौं ।’
सुशासनका लागि स्टन्ट होइन, सही इन्टेन्ट चाहिने प्रधानमन्त्री ओलीले बताएका छन् ।
‘यस सरकारले आफू अग्लो हुन अरुलाई होचो बनाउने कोसिस गर्ने छैन’, ओलीले भने, ‘आफू गोरो देखिन अर्कोको अनुहारमा हिलो छ्याप्ने काम पनि गर्दैन ।’
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया