कृषि मन्त्रालयका अराजक कर्मचारीहरूद्वारा मन्त्रीलाई प्रवेशमा अवरोध, ४८ घण्टा पनि दिएनन्
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका ‘अराजक’ र ‘अनुशासनहीन’ कर्मचारीहरूले नवनियुक्त मन्त्री रामनाथ अधिकारीलाई मन्त्रालय छिर्न असहयोग गरेका छन् ।
सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ लिएर पदभार ग्रहण गर्न सिंहदरबारस्थित मन्त्रालय आएका मन्त्री अधिकारीलाई मूल ढोकामा बसेर निजामती कर्मचारीहरूले अबरोध गरेर अनुाशसनहीनताको नमूना देखाएका छन् । शपथ लिएर आएको मन्त्रीलाई कम्तीमा पनि ४८ घण्टाको समय पनि ती अराजक कर्मचारीहरूले दिएनन् ।
मूल ढोकामा धर्ना बसेका निजामती कर्मचारीहरूलाई देखेपछि मन्त्री अधिकारी मन्त्रालयमा रहेको आफ्नो कार्यकक्षमा प्रवेश नगरी मन्त्रिपरिषदको बैठकका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गएका थिए ।
मन्त्रिपरिषदको बैठकमा जानुभन्दा अगाडि केही समय कृषि मन्त्रालयको चमेना गृहमा गएर बसेका थिए ।
नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री अधिकारीले कर्मचारीहरूको समस्या समाधानका लागि समय मागेका पनि छन् । तर, कर्मचारीहरूले मन्त्री अधिकारीलाई असहयोग गरिरहेका छन् ।
कृषि मन्त्रालय मातहतका विभिन्न कार्यालयमा कार्यरत तीन सय प्राविधिक कर्मचारी आफ्नो वृत्ति विकास हुन नसकेको भन्दै १७ दिनदेखि धर्नामा छन् ।
माग पूरा गराउन शान्तिपूर्ण तरिकाले प्रदर्शन गर्न पाइन्छ । तर, नवनियुक्त मन्त्रीलाई मन्त्रालयमा प्रवेश गर्न नदिएर ती अराजक र अनुशासनहीन कर्मचारीहरूले के गर्न खोजेका हुन् प्रश्न उठेको छ ।
कृषि मन्त्रालय ठूलो भ्रष्टाचारको अखडा हो भन्ने आरोप लाग्दै आएको छ । कृषिको बजेट कर्मचारीहरूले दुरुपयोग गरेको आरोप पनि लाग्दै आएको छ । तर, कर्मचारीहरूमा कुनै सुधार हुने छाँटकाँट छैन ।
नेपाली कांग्रेसबाट मन्त्री बनेका अधिकारी सामान्य किसान परिवारका नेता हुन् । धादिङ जिल्लाबाट प्रतिनिधि सभामा जितेर आएका अधिकारी निकै नरम र सरल स्वभावका नेता हुन् । अधिकारीलाई समेत चिन्न नसक्ने कृषि मन्त्रालयका अराजक कर्मचारीहरूले कसलाई चिन्छन् प्रश्न उठेको छ ।
मन्त्री अधिकारी कांग्रेसका नेताहरू मध्ये निकै सरल र सहजमा पर्छन् । खुसी पार्न सक्ने हो भने मन्त्री अधिकारीले औलो काटेको पनि थाहा पाउँदैनन् ।
अराजक र अनुशासनहीन कर्मचारीहरूको आन्दोलनका बारेमा प्रतिक्रिया लिन मन्त्रालयका प्रवक्ता डा.हरिबहादुर केसीलाई सम्पर्क गर्दा उनी कुनै पाँचतारे होटलमा चलिरहेको सेमिनारमा सहभागी हुन गएको जवाफ आयो ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया