एमालेबाट धोका पाएका प्रचण्डले देउवाको इमान्दारिता स्मरण गरे, कांग्रेससँग गल्ती स्वीकार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेससँगको तत्कालीन गठबन्धनबाट आफू सुरक्षित रहेको भन्दै सभापति शेरबहादुर देउवाको नाम उल्लेख नगरेर स्मरण गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री दाहालले भने, ‘निर्वाचनपूर्वकै गठबन्धन अर्थात् नेपाली कांग्रेससहितको सत्ता समीकरणमा म प्रधानमन्त्रीका रूपमा त सुरक्षित थिएँ तर, मेरो छटपटीअनुसारको समन्वय भएन ।’

‘सरकार असफल भएको त होइन तर, मेरो अपेक्षाअनुसार गति लिन सकेन’, दाहालले भने ।

‘सरकारले एक वर्ष पूरा गरेको अवसरमा जनताका नाममा गरेको सम्बोधनमा मैले स्पष्टै भनेको पनि थिएँ, देशमा सकारात्मक आसा र परिवर्तन ल्याउन नसके म कसैलाई माफ गर्दिनँ र आफू पनि पद ओगटिरहन्नँ’, उनले भने ।

‘कांग्रेसको शीर्ष नेतृत्वसँग असमझदारी भएर, सत्ताको संकट भएर वा अविश्वास भएर मैले गठबन्धन परिवर्तन गरेको होइन भनेर मैले त्यतिबेलै संसदमै भनेको हुँ’, दाहालले भने, ‘वास्तवमा तेज गतिमा सरकार चलाएर लोकतन्त्रप्रति जनताको भरोसा बढाउने हुटहुटी र अलिअलि वामपन्थी आन्दोलनको भावुक बहकाउले नै मलाई एमालेसहितको गठबन्धनमा लगेको हो ।’

कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग नयाँ गठबन्धन गरेर सरकार बनाएकोप्रति दाहालले पछुतो मानेका छन् । दाहालले कांग्रेसप्रति नरम र एमाले तथा केपी ओलीप्रति गरम सम्बोधन गरेर कांग्रेस–एमाले गठबन्धनभित्र खेल्न खोजेका छन् ।

‘मैले सरकारको गियर परिवर्तनका लागि यो ठीकै बाटो हो भन्ने मानेको थिएँ’, दाहालले भने, ‘नयाँ उदाएका शक्तिहरू पनि सरकारमा आएपछि तुलनात्मकरूपमा सकारात्मक वातावरण बन्यो पनि । जनतामा आशा पनि जाग्यो ।’

प्रधानमनत्ती दाहालले भने, ‘जसलाई मैले वाम सेन्टिमेन्ट ठानेको थिएँ, त्यो षड्यन्त्र थियो भन्ने थाहा पाउन म ढिलो भएँ । केही मान्छेहरू कहिल्यै कुण्ठा र प्रतिशोधबाट निस्किन सक्दैनन् भनेर मैले हिसाब गरिनँ, समयले मान्छेलाई सुधार्छ भन्ने विश्वास गरेँ ।’

‘म लामालामा मीठा र भरोसापूर्ण संवादहरूबाट अल्मल्याइएँ । स्वर्ग र नर्कसँगै जाने भावुक आश्वासनहरूबाट झुक्याइएँ’, दाहालले भने, ‘म यसको नैतिक जिम्मेवारी लिन तयार छु । नयाँ सत्ता समीकरण बनाइरहेका साथीहरूलाई मेरो यत्ति भन्नु छ, तपाईहरूको आपसी अनुभव अप्रिय नहोस् । कसैमाथि धोका नहोस् । मेरो शुभकामना छ ।’

Published : Friday, 2024 July 12, 2:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया