पहिरोले बगाएको २ वटा बस, हराइरहेकाहरूको खोज तलास

भरतपुर । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरो खस्दा दुई वटा डिलक्स गाडी त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ ।

नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र गणपति डिलक्स नदीमा खसेका हुन् ।

पहिरोबाट नदीमा बसेका बस र बेपत्ता भएका यात्रुहरूको सुरक्षा निकायले खोजतलास सुरु गरेका छन् । त्रिशूली नदीमा सुरक्षाकर्मी र गोताखोरले खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।

एन्जल वीरगन्जबाट काठमाडौंतर्फ र गणपति काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको अवस्थामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

एन्जल डिलक्समा २४ जना यात्रु सवार रहेको थाहा भएको छ । प्रहरीका अनुसार टिकट काउन्टरका कर्मचारीले १७ जनाको नाम र ७ जनाको संख्या मात्रै इन्ट्री गरेर चढाएको भेटिएको छ । हराएका दुवै बस खोज्न सेना, सशस्त्र र प्रहरी परिचालन गरिएको छ ।
बसमा अन्सारी जी समेत २ जना (भारत घर), सन्तोष ठाकुर (भारत), सुरेन्द्र साह (भारत), आदित मिया (भारत), सुनिल साह (भारत), साहनबाज आलम (भारत), प्रकाश पटेलसमेत दुई जना (वीरगन्ज–१४ पिपरा) रहेको देखिएको छ ।

अरबिन्द्र दुवे (ठेगाना नखुलेको), हरिन्द्र पण्डित (ठेगाना नखुलेको), सुजित जीसहित दुई जना (रामनगरी, पर्सा), परमानन्द जी (बारा, मुसहर्वा), हृदयनारायण राउत समेत ३ जना (पर्सा, रंगपुर), सालिम मियासहित दुई जना (रघुनाथपुर) रहेका थिए ।

रैजुल आलम समेत दुई जना (पर्सा, कटिया), जवाहिर महतो (वीरगञ्ज, बस चालक), राजेन्द्र केसी (डिलक्स साहु), चौधरी थरका सह–चालक पनि बसमा रहेको बुझिएको छ ।

यसैबीच, काठमाडौबाट रौतहटको गौरतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स चितवनको सिमलतालमा पहिरोले बगाएको छ ।

शुक्रबार बिहान बसबाट ३ जना यात्रुले हामफालेर ज्यान जोगाउन सफल भएका छन् ।

रौतहटको देवाहीगोनाहीका दुई र वृन्दावन नगरपालिकाको सिसवा धमौराका १ यात्रुले बसबाट हामफालेर ज्यान जोगाएका हुन् । ती यात्रुले बस खस्न थालेपछि आफू क्याबिनको झ्यालबाट हाम फालेर ज्यान जोगाएको बताएका छन् ।

काठमाडौंबाट रौतहटको गौर आउँदै गरेको ००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस भरतपुर महानगरपालिका–२९ सिमताल भन्ने स्थानमा पहिरोमा परेको थियो ।

काठमाडौंको कलंकीबाट २३ र जोरपाटीबाट ५ जना गरी २८ जना यात्रु बोकेर बस रौतहट आएको थियो । डिलक्स बसका काठमाडौंका ईन्चार्ज दीपु सिंहले २७ जना काउन्टरबाट र कन्डक्टर ऋषि सिंहले १ जना आफ्नो मानिस चढाएको बताए ।

चितवनका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बसमा ४१ जना यात्रु रहेको भन्ने जानकारी प्राप्त भए पनि पुष्टि नभएको बताएका छन् ।

ईन्चार्ज सिंहले बसमा रौतहट घर भएका चालक किशोर चौधरी र कन्डक्टर ऋषि सिंह रहेको बताएका छन् ।

बीचबाटोबाट कति यात्रु चढेका थिए भन्ने भने केही जानकारी छैन । बससँगै वीरगन्जबाट काठमाडौं गइरहेको बस पनि पहिरोले बगाएको छ ।

Published : Friday, 2024 July 12, 1:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया