नलिनचोक हेलिपोर्टमा पाइलटहरूद्वारा बगावत, राज्यको फेरि करोडौं डुब्न लाग्यो

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पोखरा र भैराहवाका दुई अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालन गर्न नसकेर हायलकायल भएका बेला भक्तपुरको नलिनचोकमा रहेको हेलिपोर्टमा पाइलटहरूले हेलिकप्टर लैजान अस्वीकार गरेका छन् ।

पाइलटहरूले बिहीबारदेखि हेलिकप्टरलाई नलिनचोक हेलिपोर्टमा लैजान बन्द गरेको एक पाइलटले बताएका छन् । पाइलटहरूले नलिनचोक हेलिपोर्ट उडान र अवतरणका लागि उपयुक्त छैन भनेर विरोध जनाइसकेका छन् ।

महानिर्देशक अधिकारीले राज्यको करोडौं रकम खर्च गरेर बनाएको हेलिपोर्टमा आवश्यक सेवा सुविधा र हवाइ सुरक्षामा निकै कमजोर व्यवस्थापन रहेको भन्दै असन्तुष्ट बनेका पाइलटहरूले हेलिकप्टर लैजान अस्वीकार गरेका हुन् ।

हेलिपोर्टमा पाइलटहरूले सुरक्षा लगायत विभिन्न कारण देखाउँदै हेलिकप्टर लैजान नमानेपछि त्यसको जिम्मेवारी महानिर्देशक अधिकारीले लिनुपर्ने प्राधिकरणका कर्मचारीहरूले बताएका छन् । नलिनचोक हेलिपोर्टका विषयमा सरोकारवाला निकायले छानविन गरेर महानिर्देशक अधिकारीलाई हदैसम्मको कारबाही गर्न माग पनि उठेको छ । यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा न्यायका लागि एउटा समूह पुगिसकेको छ ।

अर्बौ ऋण लिएर बनाइएका दुइटा अन्तर्राष्ट्रिय विमानस्थलहरू पोखरा र भैरहवाको बेहाल भए जस्तै महानिर्देशक अधिकारीले करोडौं रकम खर्च गरेर बनाएको नलिनचोक हेलिपोर्ट पनि पङ्गु भएको छ । सेवा सुविधा निकै कमजोर रहेको नलिनचोक हेलिपोर्टलाई संस्कृति, पर्यटन तथा नगारिक उड्डयनमन्त्री हितबहादुर तामाङले उद्घाटन गरेका थिए ।

नलिनचोक हेलिपोर्टलाई लिएर विभिन्न खालका विवाद भइरहेका बेला महानिर्देशक अधिकारीले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनेर सपना देखिरहेका छन् । बाराको विमानस्थलमा पनि विदेशबाट अर्बौं रकम ऋणमा लिएर पोखरा र भैरहवा तथा नलिनचोकको जस्तो हालत बनाउन लागेको भनेर आलोचना भइरहेका छन् ।

दुई दिन अगाडि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा आनन्द मुल्मीको प्रश्न सामना गर्न नसकेर महानिर्देशक अधिकारी टापकसेका थिए ।

महानिर्देशक अधिकारीले आफूलाई असहयोग गरेर अफ्ठ्यारो पारेका भन्दै मुल्मीलाई जसरी पनि सिध्याउने भनेर बबाल गरिरहेको चर्चा पोखरामा छ ।

महानिर्देशक अधिकारीले उल्टै ‘जो चोर उसैके ठूलो स्वर’ भने जस्तै गरी प्राधिकरणको तर्फबाट छानविन समिति समेत बनाउने निर्णय गरेका छन् ।

Published : Thursday, 2024 July 11, 9:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया