भुटानी शरणार्थी प्रकरणमा टेकनाथ रिजालले भेटेका थिए प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादी भुटानी शरणार्थी नेता टेकनाथ रिजालले आफूले टोपबहादुर रायमाझी, सानु भण्डारी र केशव दलालसँगै गएर वर्तमान प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेको बयान दिएका छन् ।

अदालतले रिजाललाई सोधेका २३ प्रश्नमध्य रिजालले ८ औँ प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डसँग भेटघाटको कुरा उल्लेख गरेका छन् । इजलाशले सोधेको नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाइ अमेरिका पठाइदिने योजना क–कसले बनाउनु भएको हो ? तपाईले को मार्फत यसबारेमा जानकारी पाउनुभएको हो ? बताइदिनुस । भन्ने प्रश्नको उत्तरमा प्रचण्डसँगको भेटबारे खुलाएका हुन् ।

काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलाशसमक्ष दिएको बयानमा रिजालले भनेका छन्, ‘प्रचण्ड निवासमा म, टोपबहादुर रायमाझी, सानु भण्डारी र केशव दलाल पुगेका थियौं ।’

बयानमा रिजालले आफूलाई झापाबाट प्लेनको टिकट काटेर काठमाण्डौँ ल्याएर रायमाझीको घरमा पु¥याइएको उल्लेख गरेका छन् । नागरिकलाई भुटानी शरणार्थी बनाउने भनेर रायमाझीले भनेको कुराकानी क्लियर नभएपछि आफूले केपी शर्माओली र प्रचण्डलाई भेटाउनुस् भनेको उनको भनाइ छ । त्यसपछि रायमाझीले आफू, सानु र केशवलाई सँगै लिएर प्रचण्ड कहाँ लगेको उल्लेख छ । ओलीसँग भने भेटाउन नसकेको उनले बयानमा उल्लेख गरेका छन् ।

भेटमा आफूले भुटानी शरणार्थी व्यवस्थापनका सम्बन्धमा कुराकानी गर्न आएको भनेपछि प्रचण्डले ‘म आज एकदमै व्यस्त छु, टोपबहादुर रायमाझीसँग सबै कुरा गर्नु होला । सम्बोधन हुनसक्ने भनए समाधान गर्नु भन्नु भयो ।’ भनेर बयानमा उल्लेख गरेका छन् ।

शरणार्थी प्रकरणमा पक्राउ परेका रिजाल उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएपछि गत पुसमा रिहा भएका थिए । उनलाई गत मंसिर १५ गते नै उच्च अदालत पाटनले १५ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

Published : Thursday, 2024 July 11, 7:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया