बोल्नै नहुने, बोल्यो कि कारवाही गर्ने अप्रजातान्त्रिक रवैया स्वीकार्य छैन : महामन्त्री शाही
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की महामन्त्री कुन्ती शाहीले पार्टीभित्र विचार र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कार्य सह्य नहुने भन्दै विधानको पूर्ण पालना गर्नुपर्ने बताएकी छिन् ।
शनिबार राप्रपाद्वारा केन्द्रीय कार्यालयमा आयोजित कर्णाली प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले भनिन्, ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक पार्टी हो । त्यसैले पार्टीभित्र आन्तरिक प्रजातन्त्र र अभ्यास व्यवहारमा लागू हुनुपर्दछ ।’
‘पार्टीभित्र बोल्नु पाउनु पर्दछ, विचार र अभिव्यक्ति स्वतन्त्रतामा प्रतिवन्ध लगाउने कुरा सह्य हुँदैन’, शाहीले भनिन् ।
पार्टीभित्र केही सकसपूर्ण अवस्था कार्यकर्तापंक्तिमा महसुस भएको भन्दै उनले नेतृत्वको ध्यानाकर्षण गराइन् ।
‘बोल्नै नहुने, बोल्यो कि कारवाही गर्ने जस्ता अप्रजातान्त्रिक रवैया आजको युगमा स्वीकार्य हुँदैन’, उनले भनिन् ।
उनले विधानको अक्षरक्षः पालना र आन्तरिक प्रजातन्त्रको जगमा पार्टीलाई बलियो बनाउनु पर्ने बताएकी छिन् ।
उनले भनिन्, ‘पार्टीप्रति आकर्षण छ तर, लहरलाई आकर्षित गर्न सकिएको छैन । पार्टीले किन विश्वास जित्न सकेको छैन ? त्यसैले पार्टीमा सकारात्मक बहस र खुला छाती, प्रजातान्त्रिक आचरण र सही रणनीति आवश्यक भएको छ ।’
‘एकथरीले यहाँ भाष्य निर्माण गर्न खोजे जस्तो अध्यक्षलाई कमजोर बनाउने नभएर पार्टीलाई बलियो बनाउन बहस गर्नुपर्दछ’, महामन्त्री शाहीले भनिन्, ‘पार्टीमा सकारात्मक बहसको खाँचो छ ।’
‘सहरी क्षेत्र, तराई, पहाड र हिमालका लागि सोही अनुकूल रणनीति बनाएर बलियो संगठन निर्माण गर्नु आवश्यक छ’, शाहीले भनिन् ।
‘नेपालगंज र झापालाई बनाउने रणनीति कर्णालीका लागि सान्दर्भिक हुँदैन’, उनले भनिन्, ‘कर्णालीका लागि छुट्टै रणनीति र कार्यक्रम आवश्यक हुन्छ ।’
देश र समाजमा विद्यमान संकटको निकास राप्रपाले बोकेको नीति, सिद्धान्त नै हो’, महामन्त्री शाहीले भनिन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया