कांग्रेसको खुलासा, एमालेका कारण एनसेलबाट सरकारलाई २५ अर्ब घाटा, राजस्वमा ठगी गरेको गरै

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् पूर्व सञ्चार, सूचना तथा प्रविधिमन्त्री मोहनबहादुर बस्नेतले एनसेलको ग्राहक बढ्दा आम्दानी घटेको देखाएर अर्बौ राजस्व छलि भएको बताएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सहभागी हुँदै बस्नेतले एनसेलबाट सरकारले २५ अर्ब घाटा व्यहोर्नु परेको बताए । उनले एनसेललाई तत्कालीन समयमा लेखा समितिले कारबाही गरेर प्रतिबन्ध लगाएको प्रशङ्ग उठाउँदै एमालेको नेतृत्वमा रहेको तत्कालीन विकास समितिले अनुमति दिएर खोलिएदिएको बताए ।

उनले भने, ‘एनसेलका बारेमा केही भन्न चाहेँ । सरकारले वार्षिक २५ अर्बभन्दा बढि यसमा घाटा सहनु परेको छ । यो धेरै तथ्याङ्कले पुष्टि गरेको छ । मैले यसमा केही तथ्याङ्क पनि पेश गर्न चाहन्छु ।’

‘यता यसको परिभाषा नै गलत तरिकाले व्याख्या गर्न थालेका छन् । टेरामक्स टेलिकम्युनिकेशन ट्राफिक मनिटरिङ एण्ड कन्ट्रोल सिस्टम हो यो’, उनले भने ।

‘नेपालमा यसको व्यापार बढ्दै बढ्दै गएको छ । अनि आम्दानी घट्दै घट्दै गएको देखाएर । ट्याक्स कम तिर्दै गएको छ’, बस्नेतले भने ।

‘म एक दशकभन्दा बढि सार्वजनिक लेखा समितिमा बसेँ । त्यो बेलामा पनि धेरै ठूलो ठूलो रकम हिनामिना भएको कुरा आउँथ्यो । तर, लेखा समितिले हेरेर त्यसलाई कारबाहीको लागि पठाएर हामीले उसको कारबाही बन्द गर्ने कुरा पनि लेखा समितिले गरेको थियो’, उनले भने ।

‘फेरि त्यो बेलाको विकास समितिले तुरुन्तै खोलिदिएको थियो । त्यहाँ राजनीतिक इन्ट्रेस्ट जुधेको थियो । अन्यथा नलिनु होला म नाम तोक्दैन । विकास समितिको सभापति एमालेको माननीयज्यू हुनुहुन्थ्यो । तुरुन्तै खोलिदिएको थियो’, कांग्रेसका सांसद बस्नेतले भने ।

तत्कालीन समयमा विकास समितिको सभापति एमालेका सांसद रविन्द्र अधिकारी थिए । अधिकारीको हेलिकप्टर दुर्घटनामा परेर मृत्यु भएको थियो । अधिकारीले नै एनसेललाई लेखा समितिले लगाएको प्रतिबन्ध र कारबाहीलाई फुकुवा गरिदिएका थिए ।

उनले भने, ‘अब यसको अलिकति तथ्याङ्क म यहाँ निवेदन गर्न चाहेँ । यसका बारेमा यो एक्जिटाले सञ्चालन गरेको एनसेल नेपालीहरू छन् यसका चाहिँ मुख्य, अब यसका हर्ताकर्ता तर, विदेशीहरूको पनि लगानी छ । पार्टनरसिप आफ्नो ढङ्गको छ ।’

‘यसले श्रीलंका, बंगलादेश, कम्बोडिया, इण्डोनेशिया र मलेशियामा यसको हरेक वर्ष आम्दानी बढिरहेको छ । नेपालमा भन्नु हुन्छ भने ०७४/७५ मा ९८.६८ अर्ब, त्यसपछिका वर्षमा १.४५ करोड । यसको ग्राहक बढ्दै गइरहेको छ, आम्दानी घट्दै गइरहेको छ । ९२.१२ अर्ब । १.९४ करोड ग्राहक हुँदा ८१.१२ अर्ब । घट्दै गइरहेको छ । २.८४ करोड ग्राहक हुँदा झन् घट्दै ७५.७१ अर्ब र २.७१ अर्ब ग्राहक हुँदा ७०.५ अर्ब यसको आम्दानी’, उनले भने ।

‘सीआइबीले समेत यसले घोटाला गरेको छभनेर राजस्वको पटक पटक प्रतिवेदन पेश गरेको छ’, बस्नेतले भने ।

‘तर, यो हेर्ने को छ भने ? एनसेल र अरु टेलिफोन प्रदायक कम्पनीहरू युटिएल लगायतमा काम गरेका मान्छेहरूलाई हाम्रो सरकारले एक्सपर्ट रुपमा लिने गरेको छ’, बस्नेतले भने ।

‘अनि उसले दिएको दिएको एक्सपर्टिजम कस्तो हुन्छ ? त्यसबाट थाहा हुन्छ’, सांसद बस्नेतले भने ।

‘त्यस कारण यसलाई टाइट गर्न सक्यौँ, कानूनी दायरामा ल्याउन सक्यौँ भने २५ अर्बभन्दा बढि वार्षिक राजस्व यहिँबाट थपिन्छ । तपाईले कति वटा योजना कार्यान्वयन गर्नु हुन्छ ? यहिबाट थपे हुन्छ’, उनले भने ।

एनसेलले राज्यलाई अर्बौं रुपियाँ राजस्व छलि गरेर ठगी गरिरहेको आवाज उठ्दा समेत कारबाही हुन सकेको छैन । उच्च राजनीतिक संरक्षणमा एनसेलले सरकारलाई ठग्दै आएको छ ।

Published : Friday, 2024 June 14, 9:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया