पाँचदिनम्म पर्खिएपछि कांग्रेसले दियो प्रधानमन्त्रीलाई अल्टिमेटम, २८ गतेदेखि प्रचण्ड बेपत्ता

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विदेश भ्रमणका विषयमा सदनलाई जानकारी गराउन माग गरेको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै कांग्रेसका प्रमुख सचेतक लेखकले भने, ‘आगामी दिनको यो प्रतिनिधिसभाको बैठक प्रारम्भ हुनेवित्तिकै सम्माननीय प्रधानमन्त्रीज्यूबाट आफ्नो भारत भ्रमण र सम्माननीय राष्ट्रपतिज्यूको विदेश भ्रमणका बारेमा यो सदनलाई हुनुपर्छ ।’

उनले भने, ‘योभन्दा अबका समाचार कमसेकम अखबार पढेर जानकारी हुने स्थिति नबनोस् । यसका बारेमा रुलिङ होस् भन्ने मेरो आग्रह छ ।’

उनले भने, ‘बैठक चालु छ । संसारका कतिपय संसदीय पद्धति भएका मुलुकमा राष्ट्र प्रमुख, सरकार प्रमुख मात्रै होइन, सदन चलेका बेलामा माननीय मन्त्रीजी बाहिर जाँदा पनि विशेष खालको निर्णय गरेर जानुपर्ने व्यवस्था हो ।’

लेखकले भने, ‘कारण के हो ? भने सदन चलिरहेको बेलामा यस्ता कुराहरू सबैभन्दा पहिला सदनमा आउनुपर्छ । यस्तो कुरा, सदनको मान गर्नुपर्ने, मर्यादा गर्नुपर्ने, यसको गरिमा जोगाउनुपर्ने कुरा पनि प्रतिपक्षले स्मरण गराउनुपर्ने जुन स्थिति छ यो स्थिति सरकारका लागि कदापि उचित हुन सक्दैन । सभामुखज्यूले यसमा विशेष ढङ्गले रुलिङ गर्नुपर्नेछ । होइन भने संसदीय अभ्यास मिचिदै छ । संसदको मर्यादा र गरिमा घट्दै छ । हामी यसका प्रति अत्यन्तै ज्यादा चनाखो छौँ ।’

‘प्रधानमन्त्री सम्माननीय पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यू भारत भ्रमणमा जानुभयो । भारतको लोकसभाको राम्रोसँग सम्पन्न भएको निर्वाचनलाई सम्मान व्यक्त गर्न महामहिम आदरणीय मोदीजीलाई बधाइ दिनका निमित्त शुभकामना दिनका निमित्त जानुभयो । सम्माननीय प्रधानमन्त्रीजीले राम्रो काम गर्नुभयो । त्यसका लागि पनि हामी नेपाली कांग्रेस संसदीय दलको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूलाई हार्दिक धन्यावाद दिन चाहन्छौँ ।’

‘तर, म के आग्रह गर्न चाहन्छु भने मित्रराष्ट्र भारत ठूलो लोकतन्त्र भएको मुलुक हो । लोकसाभको निर्वाचन सम्पन्न भयो । खुसीको कुरा हो । महामहिम मोदीलाई बधाइ दिने, शुभकामना दिने कुरा एकदमै ठीक हो । तर, यो सबै कुरो गर्दा सम्माननीय प्रधानमन्त्रीज्यू हाम्रै सदन, यहि संसद, यहि गरिमामय संसदलाई बिर्सिनुभयो की भन्ने म आग्रह गर्न चाहन्छु’, उनले भने ।

‘हाम्रो एउटा परम्परा छ । संसदीय अभ्यास छ । देशको कार्यकारी प्रमुख प्रधानमन्त्री कुनै पनि मित्रराष्ट्रको भ्रमणमा जाँदा, उहाँ भ्रमणमा जानुभन्दा पहिला, सदनलाई उहाँ जाने कार्यक्रम, किन जाने, के उद्देश्यले जाने ? कति दिनका लागि जाने ? कहिले फर्किने भनेर जानकारी गराउने बाध्यात्मक रुपमा एउटा स्थापित भएको परम्परा छ, अभ्यास छ’, लेखकले भने ।

‘सम्माननीय प्रधानमन्त्रीजी एकहप्ता पहिला जानुभएको छ । उहाँ फर्किएर आउनुभएको पनि आज पाँच दिन भइसकेको छ । जेठको २७ गते जानुभयो । २८ गते फर्किनुभयो । हामी नेपाली कांग्रेस, प्रतिपक्ष दल अत्यन्त धैर्यतापूर्वक, संयमतापूर्वक र रचनात्मक प्रतिपक्षका रुपमा हामी कुरेर बसेका थियौं’, उनले भने ।

कांग्रेसका प्रमुख सचेतक लेखकले भने, ‘सम्माननीय प्रधानमन्त्रीजी यो सदनमा उपस्थित हुनु होला । भारत भ्रमणका बारेमा जानकारी गराउनु होला । र, सदनले पनि थाहा पाउला भनेर हामी कुरेर बसेका थियौँ । तर, पाँच पाँच दिनसम्म प्रधानमन्त्रीजी यहाँ आउन सक्नु भएन । मैले स्मरण गराउनु पर्ने भयो ।’

‘म के आग्रह गर्न चाहन्छु भने सम्माननीय प्रधानमन्त्रीजी यो सदनको नेता हो । उहाँ देशको कार्यकारी प्रमुख, उहाँ विदेश भ्रमणमा जाँदै गर्दा यो सदन अनभिज्ञ रहनुपर्ने, जानकारी नपाउनुपर्ने, पत्रिका पढेर थाहा पाउनुपर्ने यो जुन स्थिति छ र प्रतिपक्षका हैसियतले मैले सम्माननीय प्रधानमन्त्रीजीलाई यो सदनको उहाँ नेता हो भनेर मैले स्मरण गराउनुपर्ने यो मेरो सौभाग्य हो कि सरकारको दुर्भाग्य हो ? आजभन्दा केही दिन पहिला राष्ट्र प्रमुख सम्माननीय राष्ट्रपतिज्यू मुलुक बाहिर जानुभएको छ’, उनले भने ।

‘मंगलबारका दिन २९ गते मुलुक बाहिर जानुभो । मलाई अचम्म लागेर आएको छ । राष्ट्रप्रमुख सम्माननीय राष्ट्रपति देश बाहिर जानु हुन्छ, कार्यकारी प्रमुख सरकार प्रमुख प्रधानमन्त्री देश बाहिर जानु हुन्छ’, लेखकले भने ।

‘तर, यो गरिमामय सदनले सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू देश बाहिर जानुभएको कुरा अखबार पढेर थाहा पाउनुपर्नेछ । यसलाई मैले दुर्भाग्य भन्दा बढि होला र ? म यसलाई स्मरण गराउन चाहन्छु सरकारलाई दुई तीनटा कुरा छ । हामी संसदीय सार्वभौमिकताको कुरा गर्छौं । हामी संसदीय पद्धतिमा संसदीय सर्वोच्चताको कुरा गर्छौं । संसदीय सार्वभौमिकता, पार्लियामेन्ट्री सोभेरेन्टी र त्योसँगसँगै पार्लियामेन्ट्री सुप्रिमेशीको कुरा सैद्धान्तिक रुपले त्यसका बारेमा पछि बहस गरौँला, हामीले त्यो अबलम्बन गर्न सकेका छौँ कि छैनौं ?’, लेखकले प्रश्न गर्दै भने ।

‘यहाँ त परिस्थित के भयो त भन्दा ? सरकारका कारणले संसदको न्यूनतम गरिमा र न्यूनतम मर्यादा पनि कायम गर्ने काम भएन । यसका प्रति खेद व्यक्त गर्नुपर्छ’, उनले भने ।

Published : Friday, 2024 June 14, 1:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया