लुम्बिनी विकास कोषका ईन्जिनियर भट्टराई दोषी ठहर, आमालाई सफाइ
काठमाडौं । विशेष अदालतले लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईलाई गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा दोषी ठहर गरेको छ ।
बिहीबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले ईन्जिनियर भट्टराईलाई दोषी ठहर गरेको हो ।
ठेक्कापट्टा लगाउँदा ठेकेदारबाट कमिसन लिएर जग्गाजमीन जोडेको लगायतको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० सालको चैत २५ विशेष अदालतमा भट्टराईविरुद्ध मुद्दा दायर गरेको थियो ।
ईन्जिनियर भट्टराईले कोषमा ठेक्काको काम गर्ने निर्माण सेवाका प्रोपराइटरबाट घुस रकम लिई आमा जनक नन्दनी भट्टराईको नाममा भक्तपुरको गुण्डुमा जग्गा खरिद गरेको अभियोग लगाएको थियो ।
विशेष अदालतले प्रतिवादी बनाइएकी आमा जनक नन्दनी भट्टराईलाई भने सफाइ दिएको छ । भट्टराईविरुद्धको सजाय निर्धारणका लागि ३१ गते पेशी तोकिएको छ ।
कोषको निर्माणसम्बन्धी ठेक्का लिएका व्यापारी सफिक अहमदबाट इन्जिनियर भट्टराईले तेस्रो व्यक्तिमार्फत ८० लाख रुपियाँ लिएको अख्तियारको अभियोग पत्रमा उल्लेख छ ।
अख्तियारले दायर गरेको अभियोग पत्रअनुसार घूससहितको रकमबाट भट्टराईले आमा जनकनन्दनीका नाममा भक्तपुरको गुन्डुमा छुट्टाछुट्टै कित्ताका २ रोपनी ९ आना र २ आना १ पैसा जग्गा किनेका थिए ।
भट्टराई आर्थिक वर्ष २०७५/७६ अघिसम्म कोषमा योजना प्रमुख थिए । भट्टराई कै पालामा अहमदले १ अर्ब २२ करोडको ठेक्का पाएका थिए । त्यही बेला भट्टराईले ठेकेदारबाट लिएको घूसको विवरण बाहिरिएपछि अख्तियारले अनुसन्धान गरेको थियो ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया