सहकारी ठगका आरोपी गृहमन्त्री लामिछानेको राजीनामा मागिएको छैन, समिति मागेका छौँ : कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीको करोडौं रकम अपचलन र ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेका बारेमा छानविन गर्न संसदीय समितिको मागबाट पछाडि हट्न नसक्ने जनाएका छन् ।
सोमबार काठमाडौंमा सभामुख देवराज घिमिरेले सभपाति देउवासँग भेट गरेर संसदको गतिरोध अन्त्यका लागि अनुरोध गरेका छन् । जवाफमा देउवाले आफूहरूले लामिछानेको राजीनामा माग नगरेको तर, संसदीय छानविन समिति माग गरेको बताउँदै समिति बन्नेवित्तिकै संसद खुल्ने बताए ।
सभापति देउवाले सरकारले छानबिन समिति बनाउने अवस्था आए आगामी बैठकहरू स्वतः सुचारू हुने बताएका छन् । सभापति देउवाले प्रतिपक्षीको आवाजलाई नजरअन्दाज गर्न नमिल्ने बताए ।
सभामुख घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेसँग पनि छलफल गरेका छन् ।
रास्वपा सभापति लामिछानेले राष्ट्रपतिलाई धन्यवाद दिने प्रयोजनका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकमा आफूलाई बोल्न दिनुपर्ने बताए ।
जवाफमा सभामुख घिमिरेले बैठकमा बोल्ने वातावरण भए आफूले समय उपलब्ध गराउने बताएका छन् ।
सभामुख घिमिरेसँग एमालेका अध्यक्ष केपी ओलीले टेलिफोनमा कुराकानी गरेका छन् । सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालबीच पनि कुराकानी भएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया