प्रचण्ड सरकार सहकारी ठगको संरक्षक बन्यो : कांग्रेस सांसद गौतम

काठमाडौं । नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले सरकारले सहकारी ठगको पक्षमा बचाउ गरिरहेको बताएकी छिन् ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा आकिस्मक समय लिएर बोल्दै सांसद गौतमले भनिन्, ‘सरकार अहिले सहकारीपीडितलाई न्याय दिने कुरामा भन्दा उनीहरूलाई न घरको न घाटको बनाउने सहकारी ठगहरूको पक्षमा वकालत गर्ने, फैसला सुनाउन उद्दत भएको देखिन्छ ।’

गौतमले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरूद्ध सहकारी प्रकरणमा उजुरी परेको बताएकी छिन् । गृहमन्त्री लामिछानेले सरकारी पीडितहरूले दिएको जाहेरीलाई कागजको चिर्कटो भनेकोमा असन्तुष्टि जनाएकी छिन् ।

उनले भनिन्, ‘प्रधानमन्त्री (पुष्पकमल दाहाल प्रचण्ड)ज्यू यही संसदमा आएर गृहमन्त्री रवि लामिछानेविरूद्ध परेको कानूनी हिसाबले मुद्दा गर्न अयोग्य भएको फैसला गर्नुहुन्छ, मानौं वासिङ मेसिनमा राखेर सफाचट्ट पारेर निकालेकोजस्तो गरेर यहाँ बोल्नुहुन्छ ।’

‘आरोपित गृहमन्त्री आफूविरूद्ध परेको उजुरीलाई चिर्कटोको संज्ञा दिनुहुन्छ’, गौतमले भनिन्, ‘दुःख लाग्छ, उजुरी त कागजमै लेख्ने होला नि, कि ताम्रपत्र, स्वर्णपत्रमा लेख्ने चलन भए त्यो पनि हामीलाई हुन्थ्यो नि ?’

सांसद गौतमले यस्ता घटनाले सहकारीपीडितले दिएको उजुरीको अनुसन्धान प्रक्रिया पूर्ण रूपमा प्रभावित बनेको बताएकी छिन् ।

‘त्यसकारण हामीले संसदीय छानबिन समितिको आवश्यकता देख्यौं र बनाउनुपर्ने माग रह्यो’, उनले भनिन्, ‘सबैले प्रमाण छैन भनेर आउनु भएको छ, गम्भीर आरोप लागेकोले अनुसन्धान नगरी खारेज गर्न हुन्न ।’

सांसद गौतमले अनुसन्धान हुन्जेल गृहमन्त्री लामिछाने जिम्मेवारीबाट बाहिर रहनुपर्ने पनि बताएकी छिन् ।

‘कांग्रेसको आग्रह छ, अनुसन्धान हुन्जेल गृहमन्त्रीज्यूले आफ्नो जिम्मेवारीबाट बाहिर बसुन्। एउटा संसदीय समिति बनाएर अनुसन्धानमा सहयोग गर्नुस्’, गौतमले भनेकी छिन् ।

Published : Monday, 2024 April 1, 12:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया