कांग्रेसविरुद्ध भ्रम छर्ने घण्टीले माओवादीको भ्रष्टाचारको बोझ बोक्छ : तरुण अध्यक्ष गुरुङ

मन्थली । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले गठबन्धन टुटेर नेपाली कांग्रेसलाई असर नपर्ने बताएका छन् ।

शुक्रवार नेपाल तरुण दल रामेछापको प्रथम जिल्ला सम्मेलनलाई मन्थलीमा सम्बोधन गर्दै गुरुङले कांग्रेसले आफैले संगठन बलियो बनाउन पहल गर्नुपर्ने बताए । गठबन्धनमा मात्रै भरपर्ने पार्टी कांग्रेस नरहेको उनले बताए । उनले त्यो गठबन्धन कांग्रेसले चाहेर बनाएको नभएको बताए ।

तरुण अध्यक्ष गुरुङले देशमा दुई/दुई वर्षमा नयाँ पार्टीहरू आउने बताउँदै गठबन्धन टुट्यो भनेर चिन्ता गर्न आवश्यक नरहेको बताए । ‘उनीहरूले ठूल–ठूला कुरा गर्ने गर्छन् । तीन वर्षमा पत्ता साफ भएर जान्छन्’, उनले भने ।

अध्यक्ष गुरुङले भने, ‘निर्वाचनमा हामीले भनेका थियौँ । धेरै घण्टी (राष्ट्रिय स्वातन्त्र पार्टी)को विश्वास नगर्नुस् । अहिले राप्रपामा गएका रवीन्द्र मिश्र नेपालको लोकतन्त्रको विषयमा हामीभन्दा धेरै ठूला कुरा गर्नुहुन्छ ।’ अध्यक्ष गुरुङले भने, ‘आज ! राजा आऊ देश बचाउ भन्ने पार्टीमा हुनुहुन्छ वहाँहरू ।’

गुरुङले अहिले घण्टीले कांग्रेसविरुद्ध भ्रम छर्दै गएको बताएका छन् । उनले यो दुई वर्षभित्र कम्युनिष्टहरूका विभिन्न भ्रष्टाचारका बोझ यही घण्टीले भोग्ने र यस्ता पार्टीलाई नेपाली जनता र ईतिहाँसले माफ नदिने बताएका छन् । तरुण दलको गौरवमय इतिहास भएको भन्दै राणा शासनविरुद्ध सङ्घर्ष गरी त्यसको अन्य गर्नमा महत्वपूर्ण भूमिका खेलेको उनले बताएका छन् ।

गुरुङले नेपालको रक्षा र महिलाहरूको अधिकारको लागि गाउँ–गाउँमा पुगेर तरुण दलले राजनीतिक चेतना र कांग्रेसको विचार जनतामा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको उनले बताएका छन् ।

अध्यक्ष गुरुङले नेपालमा भएको सशस्त्र युद्धको नाममा माओवादीले हतियार उठाइ पहिलो आक्रमण तरुण दललाई गरेको स्मरण गरेका छन् ।

उनले भने, ‘जनयुद्धमा हाम्रा धेरै साथीहरूको ज्यान गुमेको थियो । रामेछापको यस मञ्चबाट ती सबै शहीदहरूप्रति म सलाम गर्न चाहन्छु ।’ उनले तरुण दल जहिले पनि नेपालको विपदमा अग्रस्थानमा गएर काम गर्दै आएको बताएका छन् ।

उनले भने, ‘हिजो हामी सामन्तीको विरुद्धमा सङ्घर्षमा थियौँ । अहिले हामी रोजगार, कृषि र आर्थिक सङ्घर्षमा छौं ।’ ‘नेपाललाई कसरी समृद्ध बनाउन सकिन्छ भनी अहिले तरुण दल सङ्घर्षमा छ’, अध्यक्ष गुरुङले भनेका छन् ।

अध्यक्ष गुरुङले रामेछापमा भएको आगालागीबाट भएको क्षतिमा तरुण दलका कार्यकर्ताहरूलाई सहयोगमा जुट्न निर्देशन दिएका छन् ।

Published : Friday, 2024 March 15, 9:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया