कोशीमा भएको अन्तरघातको घटनाले गठबन्धनमा असर नपर्ने

काठमाडौं । सत्तारुढ गठबन्धनमा कोशीमा राष्ट्रियसभा सदस्य निर्वाचनमा भएको अन्तरघातका विषयमा छलफल भएको छ ।

मंगलबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा राष्ट्रियसभा निर्वाचनको समीक्षा भएको छ । बैठकमा समीक्षा भएपनि राष्ट्रियसभा निर्वाचनका क्रममा कोशीमा भएको घटनाले सत्ता गठबन्धनमा कुनै असर नपर्ने नेपाली कांग्रेसका नेता रमेश लेखकले बताएका छन् ।

राष्ट्रियसभा निर्वाचनमा कोशीमा सत्ता गठबन्धनका उम्मेदवार पराजित हुनु अप्रत्याशित रहेको निष्कर्ष बैठकले निकालेको छ ।

लेखकले राष्ट्रिय सभाको निर्वाचन र परिणामको विषयमा प्रारम्भीक समीक्षा र छलफल भएको बताएका छन् ।

नेता लेखकले कोशी प्रदेशमा सत्ता पक्षीय गठबन्धनमा हामीले सिट गुमाएको विषयलाई लिएर छलफल भएको बताएका छन् ।

उनले उम्मेदवार पराजयको विषयले गठबन्धनमा फरक नपर्ने बताए । ‘राष्ट्रिय सभाको निर्वाचन पश्चात गठबन्धन दलका नेताहरुको बैठक बस्यो’, उनले भने, ‘राष्ट्रिय सभाको निर्वाचन र परिणामको विषयमा प्रारम्भिक समीक्षा र छलफल भएको छ । विश्लेषण भएको छ ।’

नेता लेखकले भने, ‘कोशी प्रदेशमा सत्ता पक्षीय गठबन्धनमा हामीले सिट गुमाएको विषयलाई लिएर छलफल भएको छ । अरु प्रदेशको बारेमा पनि छलफल भएको छ ।’

‘कोशीमा अप्रत्याशित रिजल्ट आएको छ । यो गम्भीर छ । यसका बारेमा प्रारम्भिक छलफल भएको छ’, लेखकले भने, ‘गठबन्धन एकमुष्ठ छ, एकीकृत छ। गठबन्धनमा प्रभाव पार्ने स्थिति छैन ।’

प्रतिनिधिसभामा कांग्रेस संसदीय दलका प्रमुख सचेतक लेखकले कोशीको परिणाम अप्रत्याशित र गम्भीर भएकाले गम्भीर तरिकाले छलफल हुने बताएका छन् ।

Published : Tuesday, 2024 January 30, 11:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया