माओवादीभित्र बबाल गर्नेहरुलाई निर्णय सच्याउन चेतावनी

काठमाडौं । माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलले बहुमतको आधारमा दलको नेता हटाएको निर्णय सच्याउन दिएको निर्देशन दिएको छ ।

शुक्रबार खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाउँदा ६ जना प्रदेशसभा सदस्यले निर्णयमा हस्ताक्षर गरेका थिए । ११ जना प्रदेशसभा सदस्य रहेको माओवादी केन्द्र सुदूरपश्चिममा एकजना सभामुख छन् ।

मानबहादुर धामी, अक्कल रावल, ओमविक्रम भाट सरल, गीतादेवी माल, लक्ष्मी विक र शिवसिंह ओलीले धामीलाई दलको नेता बनाउने निर्णय गरेको बैठकमा खगराज भट्ट, झपट साउद, रमेश धामी र जनकीदेवी कुँवर उपस्थित थिएनन् ।

४ जनाको अनुपस्थितिमा ६ प्रदेश सांसदले गरेको निर्णय सच्याउन माओवादीको प्रदेश कमिटीले निर्देशन दिएपछि अहिले संसदीय दलभित्र अर्को तरङ्ग पैदा भएको छ ।

धनगढीमा बसेको उपलब्ध प्रदेश पदाधिकारीको बैठकले पार्टीको विधिविपरीत र केन्द्रीय कार्यालयको निर्देशनसमेत अवज्ञा गरेर दलको नेता हटाएको भन्दै तत्काल उक्त निर्णय सच्याउन निर्देशन दिने निर्णय गरेको छ ।

सुदूरपश्चिम प्रदेशका सबै जिल्ला संयोजक र इन्चार्जलाई समेत परिपत्र गरिएको छ । प्रदेश अध्यक्ष हरिराम चौधरी उत्सव र सचिव जनकबहादुर बुढाले हस्ताक्षर रहेको परिपत्रमा संसदीय दलको नेता खगराज भट्टको जानकारीविना उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले दलको नेता परिवर्तन गरेको र सरकार परिवर्तन गर्ने भन्ने कुरामा गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

Published : Sunday, 2024 January 28, 7:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया