मानवताभन्दा ठूलो धर्म केही छैन : मुख्यमन्त्री चौधरी

घोराही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मानवताभन्दा ठूलो धर्म केही नहुने बताएका छन् ।

शनिबार दाङको तुलसीपुर उपमहानगरपालिकामा मानव सेवा आश्रम दाङको भवन निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले आयोजित श्रीमदभागवत ज्ञान विज्ञान महायज्ञलाई सम्बोधन गर्दै चौधरीले सडक पेटीमा बस्दै आएका व्यक्तिहरूको सहयोगका लागि काम गर्दै आश्रमका लागि प्रदेश सरकारले पनि आर्थिक सहयोग गर्ने बताए ।

चौधरीले केही वर्षअघि आफूले आफ्नै वडामा रहेको मानव सेवा आश्रमलाई अवलोकन गर्ने अवसर प्राप्त भएको र सोही अवसरमा आश्रम निर्माणका लागि सहयोग गर्ने बताए ।

उनले केही समयअघि हेटौँडामा भएको सातै प्रदेशका मुख्यमन्त्रीको भेलामा सबै प्रदेशमा मानव सेवा आश्रम भवन निर्माणका विषयमा छलफल भएको बताएका छन् ।

मानवता प्रवर्द्धन अभियानलाई सफल बनाउन लुम्बिनी प्रदेश सरकारले सोहीअनुसार बजेट विनियोजन गरेको उनले बताए ।

प्रदेश सरकारले आश्रमका लागि भवन निर्माणका लागि बजेटको कुनै कमी नहुनेसमेत प्रतिबद्धता व्यक्त गरेका छन् ।

माघ १३ देखि २० गतेसम्म सञ्चालन हुने महायज्ञबाट पाँच करोड आर्थिक सङ्कलन गरिने लक्ष्य आयोजकले लिएको छ ।

Published : Saturday, 2024 January 27, 7:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया