माघी पर्वले धार्मिक एवम् सामाजिक सद्भाव कायम गरेको छ : मन्त्री राणा

देउखुरी । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री रोज राणाले माघे माघी पर्व तथा माघे सङ्क्रान्तिको सुखद् अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गरेका छन् ।

सोमबार मन्त्री राणाले शुभकामना सन्देश जारी गरेर लुम्बिनी प्रदेशमा विशेष गरेर थारु समुदायले विशेष चाढका रुपमा माघी पर्व बनाउने गरेको भन्दै हर्सोल्लासका साथ मनाउन शुभकामन दिएका छन् ।

उनले भने, ‘माघी पर्व अर्थात् माघे सङ्क्रान्तिले हाम्रो सांस्कृतिक पहिचान र विविधताका साथै विभिन्न जाति जनजातिमा रहेको जातीय पहिचान, परम्परागत सांस्कृतिक र राष्ट्रिय एकतालाई राम्रोसँग झल्काएको छ ।’

उनले माघे सङ्क्रान्ति र माघी पर्वले राष्ट्रिय एकता, धार्मिक एवं सद्भाव, एक–अर्काको पहिचान र भिन्न संस्कृतिको सम्मानमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको जनाएका छन् ।

दाङ, बाँके, बर्दिया लगायतका जिल्लाहरूमा थारु समुदायको ठूलो बसोबास रहेको छ । यी जिल्लाहरूमा थारु समुदायले आफ्नो रीति र परम्पराअनुसार माघी पर्व मनाएका छन् ।

१२ महिनामा वैशाखे सङ्क्रान्तिबाट सुरु भएका सङ्क्रान्तिहरूमध्ये सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने समयावधि हुने भएकाले माघे सङ्क्रान्ति विशेष महत्वपूर्ण मानिन्छ ।

आजको दिनलाई माघे सङ्क्रान्ति, तिलुवा सङ्क्रान्ति, मकर सङ्क्रान्ति या माघीका रुपमा आ–आफ्नै विशेषता र सांस्कृतिक महत्वका साथ मनाइने गरिन्छ ।

प्रकृतिपूजक पर्वका रुपमा मनाइने यस पर्वमा तिल, तरुल, घिउ, सख्खरका विभिन्न परिकारहरू, विभिन्न सांस्कृतिक महोत्सव र झाँकीहरू, पूजाआजा, पारिवारिक भेटघाट, सामाजिक पुनर्मिलन, तीर हान्ने खेल लगायतका क्रियाकलापहरू हुने गर्दछन् ।

Published : Monday, 2024 January 15, 9:10 am

फेसबुकबाट तपाईको प्रतिक्रिया