एमाले छाडेर जसपा प्रवेश गरी मेयर भएका सिंहको बबाल धन्दा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्सामा वीरगन्ज महानगरपालिकाका प्रमुख (मेयर) राजेशमान सिंहविरुद्ध नागरिकता कीर्तेमा जाहेरी परेको छ ।

सिंहले नक्कली बाबु बनेर रुविना श्रेष्ठ नाम गरेकी युवतीलाई वंशजको नागरिकता दिएको भन्दै मंगलबार दिउँसो जाहेरी दर्ता भएको हो ।

स्थानीय मोहम्मद सहाबुद्दिनले मेयर सिंहले झुटो विवरण दिएर नागरिकता बनाउन सहयोग गरेकाले सिंहमाथि छानबिन गरी कारबाही गर्न माग गरेका छन् ।

जाहेरीमा झुटो विवरणका आधारमा जन्मदर्ता र नागरिकता बनाएको, त्यस आधारमा बनाइएको नागरिकता र राहदानी खारेज गर्न तथा नागरिकता लिने र नक्कली बाबु बनेर नागरिकता दिलाउने मेयर सिंहलाई कानुनअनुसार कारबाही गर्न माग गरिएको छ ।

१३ साउन ०७५ मा वीरगन्ज महानगरपालिका– ३ बस्ने रुविना श्रेष्ठले जिल्ला प्रशासन कार्यालय पर्साबाट पहिलोपटक लिएको नागरिकता प्रमाणपत्रमा बुबाको नाम राजेशमान सिंह उल्लेख छ ।

८ फागुन ०७६ मा प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले श्रेष्ठको नाममा प्रतिलिपि नागरिकता जारी गरेका छन् । रुविनाको नागरिकतामा बुबाको नाम राजेशमान सिंह उल्लेख भए पनि आमाको नाम भने नखुलाइएको अवस्था छ ।

नागरिकतामा किशोरीको जन्ममिति ३० असार ०५९ उल्लेख छ । पहिलोपटक १३ साउन ०७५ मा षडकुमार पोखरेलद्वारा किशोरीको नागरिकता जारी गर्दा प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेल छन् ।

गैरकानूनी ढंगबाट नागरिकता प्राप्त गरेकी किशोरी रुविना हाल राहदानी बनाएर उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया गएकी छिन् ।

सिंह एमालेबाट जनता समाजवादी पार्टी नेपाल (जसपा)मा प्रवेश गरेर मेयरमा विजय भएका थिए । सिंहको धन्दालाई लिएर खैलाबैला भएको छ ।

Published : Wednesday, 2024 January 10, 8:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया