अर्जुन-शेखर काठमाडौंमा पक्राउ, शंकर फर्किए, रसियन आर्मीमा २ जना भर्ना
काठमाडौं । रुसको सेनामा नेपाली युवाहरूलाई मोटो रकम लिएर पठाउन संलग्न रहेको अभियोगमा प्रहरीले अर्जुन श्रेष्ठ भन्ने अर्जुन सुनार र शेखर राई भन्ने शेरबहादुर राईलाई पक्राउ गरेको छ ।
अर्जुन सुनार र शेरबहादुर राईले आफूलाई अलास्का ट्राभल्सको संचालक बताउने गरेका थिए ।
सुनार र राईले प्रतिव्यक्ति छ लाख रुपियाँ उठाएको प्रहरीले जनाएको छ । सुनार र राईले होटलमा काम लगाइदिने भनेर झुक्काएर रसियाको सेनामा पठाएको उजुरीमा उल्लेख छ ।
रसिया पुगेपछि शंकर कार्कीले रिसिभ गर्ने व्यक्तिलाई ८०० डलर थप दिएका थिए । रकम पाएपछि शंकर कार्कीलाई ती व्यक्तिले ‘अब तपाईहरू आर्मीको लागि हो, तालिम गर्नुपर्छ’ भनेका थिए ।
शंकर कार्कीले आफू आर्मीको लागि नआएको बताएका थिए । रसियाका दलालले ‘होटलमा कुनै काम छैन, तपाईलाई आर्मीको लागि बोलाएको हो’ भनेका थिए ।
शंकर कार्की रसिया आर्मीमा काम नगर्ने भनेर नेपाल फर्किएर आएका थिए । त्यसपछि कार्कीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनमा सुनार र राईविरुद्ध जाहेरी दिएका थिए ।
सुनार र राईले कार्कीको एसएलसीको प्रमाणपत्र बाहेक सबै नक्कली कागजात बनाएर रसिया पठाएको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको छ ।
शंकर कार्कीको जाहेरीका आधारमा सुनार र राईलाई रसियामा मानव तस्करी कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।
सुनार र राईलाई प्रहरीले पुसको १९ गते माईतीघर र थापागाउँबाट पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।
सुनार र राईलाई मानव तस्करी गरी ठगी गरेको अपराध कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, पठाइएको छ ।
शंकर कार्कीको साथमा रसिया गएका राजन राई र विकास राईलाई रसिया आर्मीमा भर्ना गरिएको बुझिन आएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।
नक्कली कागजातको आधारमा सेटिङ मिलाई बेरोजगार युवाको तस्करी गरी झुट्टा प्रलोभनमा पारी ठगी गर्ने कार्यमा संलग्नहरूको बारेमा थप अनुसन्धान भइरहेको छ ।
सुनार र राईले रसियामा रहेको होटलमा आकर्षक तलब हुन्छ भनेर प्रतिव्यक्ति छ लाख रुपियाँका दरले शंकर कार्की, राजन राई र बिकास राईसँग रकम लिएका थिए । राजन राई र बिकास राई रसियन आर्मीमा भर्ना भएर काम गरिरहेको विज्ञप्तिमा उल्लेख छ । शंकर कार्की भने काठमाडौं फर्किएर कानूनी उपचार खोजेका छन् ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया