बालकुमारी घटनामा गृहमन्त्री श्रेष्ठलाई राजीनामा दिन आदेश

काठमाडाैं । बालकुमारी घटनामा शान्ति सरक्षा बनाउन नसकेकाे भन्दै एमालेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेकाे प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिकाे बैठकमा एमालेले गृहमन्त्री श्रेष्ठकाे राजीनामा माग गरेकाे हाे । एमालेका सांसद तथा समितिका सदस्य राजेन्द्रकुमार राईले निकम्मा गृहमन्त्री श्रेष्ठले गतिलाे जवाफ दिन नसकेपछि राजीनामा मागेका हुन् ।

राईले विदेशमा काम गरेर खान्छु भन्नेलाई गोली हानेर मारिएकाेले नैतिकताकाे जिम्मेवारी लिँदै गृहमन्त्री पदबाट श्रेष्ठले राजीनामा दिनुपर्ने बताए ।

एमालेका सांसद राईले भने, ‘सबैभन्दा राम्रो कुरा मन्त्रीज्यूले राजीनामा दिनुस् । विदेश गएर काम गरी खान्छु भन्नेलाई ताकीताकी गोली हानेपछि तपाईंले राजीनामा नदिए कसले दिने ?’

सरकारले समस्याको समाधान गर्नुपर्नेमा ठाउँका ठाउँ ताकेर गोली हान्न र जनता मार्न नमिल्ने राईले बताए । उनले देशभर अशान्तिको वातावरण रहेको भन्दै श्रेष्ठले गृह प्रशासनको नेतृत्व गर्न असफल भएको आरोप लगाए ।

एमालेका सांसद राईले गृहमन्त्री श्रेष्ठ पदमै रहिरहे उच्चस्तरीय समितिले घटनाको सत्यतथ्य छानबिन गर्न नसक्ने बताएका छन् ।

बालकुमारी घटनामा सचिव र प्रहरी महानिरीक्षकलाई उन्मुक्ति दिएकाे भन्दै एमालेका सांसद राईले पीएसओसहित तल्ला तहका प्रहरीमाथि मात्रै कारबाही गरिएको बताए । उनले माथिका अधिकारीले गल्ती गर्ने र तलकालाई कारबाही गर्ने कुरा न्यायोचित नरहेको उनको बताए ।

Published : Monday, 2024 January 1, 12:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया