शुक्रबारदेखि चन्द्रौटा महोत्सव

चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिकामा आठौँ चन्द्रौटा महोत्सव सञ्चालन हुनेभएको छ ।

बुधबार चन्द्रौटामा पत्रकार सम्मेलन गरेर महोत्सवका विषयमा जानकारी गराइएको छ । पुस १३ गतेदेखि सुरु हुने सो महोत्सव पुस २४ गतेसम्म चल्नेछ ।

महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री रोज राणाले गर्नेछन् । नवनियुक्त मन्त्री राणलाई प्रमुख अतिथिका रुपमा निम्तो दिइएको आयोजकले जनाएका छन् ।

उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जमसेर अलीले मेला महोत्सवले आर्थिक क्षेत्र चलायमान हुने बताएका छन् ।

उनले स्थानीय कलकारखाना, घरेलु तथा साना उद्योग, व्यवसायसँगै स्थानीय पर्यटन विकासमा महोत्सवले भूमिका खेल्ने बताए ।

महोत्सव स्थलमा स्टल निर्माण, आकर्षक गेट, बाल उद्यानको काम अन्तिम चरणमा पुगेको महोत्सव मूल आयोजक समितिका अध्यक्ष एवम् चन्द्रौटा उधोग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद पाण्डेले बताएका छन् ।

धार्मिक स्थलको प्रचार प्रसारका लागि शिवगडी मन्दिर आकृतिको मुलगेट र मायादेवी मन्दिर आकृतिको सचिवालय निर्माण गरिएको छ ।

महोत्सवमा १८० स्टल रहनेछ । एक लाख दर्शकले अवलोकन गर्ने र पाँच करोड रुपियाँ बरावरको कारोवार हुने लक्ष्य लिइएको छ ।

Published : Thursday, 2023 December 28, 7:22 am

फेसबुकबाट तपाईको प्रतिक्रिया