प्रधानमन्त्री दाहालले मन्त्रिमण्डल हेरफेर गर्ने, निकम्मा मन्त्रीहरु फाल्ने
काठमाडौं । केही मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री बनाउने चर्चा चलिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री परिवर्तनको कुरा उठाएका छन् ।
शुक्रबार मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ५ मा आयोजित माओवादी केन्द्रको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को आमसभालाई सम्बोधन गर्दै दाहालले मन्त्री फेरेर भए पनि जनताको सेवाका कामलाई गति दिने बताए ।
उनले अब नयाँ प्रक्रियाबाट विकास निर्माणलाई अगाडि बढाउने र जनताका सेवाका काम गरिने बताएका छन् । दाहालले नयाँ ढंगले कामलाई गति दिने प्रतिवद्धता जनाएका हुन् ।
दाहालले भने, ‘मैले तेस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको पुस १० गते १ वर्ष पूरा हुन्छ । त्यो दिन राष्ट्र र जनताका नाममा ठूलो सम्बोधन गर्दैछु ।’
उनले भने, ‘अर्को वर्ष अर्थात पुस ११ गतेबाट जनताका सेवाका कामहरु नयाँ ढंगले अगाडि बढाएर लैजाने प्रतिवद्धता व्यक्त गर्छु । पूरा नभएका कामलाई मन्त्री फेरेर भए पनि गति दिइने छ ।’
आफूले प्रतिबद्धता व्यक्त गरेर सहमति जनाएका काम कतिपय मन्त्रालयले पूरा नगरेको उनले बताए ।
दाहालले सहमति पूरा नगर्ने मन्त्रालयका मन्त्री फेरेर कामलाई अगाडि बढाउने बताएका छन् । दाहालले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा तथा राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमा नेपालको प्रतिष्ठा बढाउने कुरामा आफूले धेरै भूमिका खेलेको बताएका छन् ।
प्रधानमन्त्री दाहालले पुराना मन्त्रीलाई हटाएर नयाँ मन्त्रीहरु नियुक्त गर्ने बताएपछि नयाँ तरंग आएको छ । केही दिनदेखि मन्त्री परिवर्तनको चर्चा चलेका बेला दाहालको अभिव्यक्तिले हलचल ल्याएको छ ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया