उत्पादन र रोजगारमूलक शिक्षाको आवश्यकता छ : मुख्यमन्त्री चौधरी

गुलरिया । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरीले उत्पादनमूलक र रोजगारमूलक शिक्षा आजको आवश्यकता रहेको बताएका छन् ।

मंगलबार बर्दियाको ठाकुरबाबा नगरपालिकामा रहेको चुरे माध्यमिक विद्यालयको स्वर्णमहोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले अहिले उठ्ने गरेको शिक्षामाथिको अनुत्पादक प्रश्नलाई मेटाउन आजको आवश्यकता अनुसारको उत्पादन र रोजगारमूलक शिक्षा आवश्यक रहेको बताए ।

चौधरीले मुलुकको शिक्षा र शिक्षकको विषयमा कुरा गर्दा शिक्षा क्षेत्रमा राजनीति भएको, शिक्षक राजनीतिमा बढी केन्द्रित भएको र शिक्षा अनुत्पादक भएको बताएका छन् ।

‘शिक्षा, शिक्षकमाथि उठ्ने गरेका टिप्पणी र प्रश्न अब हामी सबैका साझा भइसक्यो’, उनले भने, ‘यसलाई निराकरणका लागि तीनै तहका सरकार योजनाबद्ध तरिकाबाट अगाडि बढ्नुपर्छ ।’

शिक्षाले कुशल वैज्ञानिक, कुशल प्रशासक, कुशल राजनीतिज्ञ, कुशल कृषक र कुशल शिक्षक जन्माउने हुँदा शिक्षामा शिक्षकको भूमिका महत्वपूर्ण हुने मुख्यमन्त्री चौधरीले बताएका छन् ।

ठाकुरबाबा नगरपालिका –३ मा रहेको चुरे माध्यमिक विद्यालयको स्वर्ण उत्सवको अवसरमा विद्यालय स्थापनाकालदेखिका संस्थापक सदस्य तथा शिक्षकलाई सम्मान गरेको थियो ।

बर्दियाको तेस्रो पुरानो अग्रणी शिक्षण संस्थाको रूपमा रहेको यस विद्यालयको स्थापना २०३० पुस ३ गते भएको थियो ।

Published : Tuesday, 2023 December 19, 8:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया