कांग्रेसको केन्द्रीय समितिमा नयाँ पुस्ता इन्ट्री गर्न कठिन, विधान संशोधन गरौँ : सभापति बानियाँ

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति ईन्द्रबहादुर बानियाँले एउटै व्यक्ति ३/४ पटकसम्म केन्द्रीय सदस्य बन्ने परम्पराले नयाँ पुस्ताले ठाउँ पाउन नसकेको बताएका छन् ।

सोमबार नेपाली कांग्रेस नुवाकोटको जिल्ला सम्मेलनलाई विदुरमा सम्बोधन गर्दै सभापति बानियाँले विधानको जटिल व्यवस्थाले नयाँ पुस्ता केन्द्रीय कार्यसमितिमा प्रवेश गर्न कठिन भएको बताए ।

उनले भने, ‘नेपाली कांग्रेसमा एउटै मान्छे पटक पटक, तीन चोटी चार चोटी केन्द्रीय सदस्य हुने प्रक्रिया छ । नयाँ मान्छेको इन्ट्री हुनै सकेन कांग्रेसमा । नयाँ युवा पुस्ता आउनै सकेन ।’

‘कांग्रेसको ८ लाख क्रियाशीलमा त्यसमा एउटा उमेर समूह राखेर कांग्रेस अगाडि बढ्नुपर्छ’, सभापति बानियाँले भने ।

कांग्रेसमा तीन पुस्ता रहेको बताएका बानियाँले त्यो नयाँ पुस्तालाई पनि समेट्नुपर्ने समय आएको बताएका छन् ।

उनले भने, ‘कांग्रेसलाई घात र अन्तर्घातबाट टाढा राख्नका लागि पहल गर्नुपर्छ । नीति अधिवेशनबाट टिकट वितरणको कुरा विधानमा गर्नुपर्छ ।’

उनले नुवाकोटमा १४ हजार ८८ क्रियाशील सदस्यता रहेको भन्दै फागुन सात गतेदेखि हुने नीति अधिवेशन उचित सुझाव दिन निर्देशन दिएका छन् ।

सभापति बानियाँले कांग्रेसलाई परिमार्जन र परिस्कृत गर्दै, कांग्रेसलाई बलियो युवाहरूको समर्थन रहेको कांग्रेस बनाउने हो कि होइन ? भनेर प्रश्न गरेका छन् ।

उनले भने, ‘कांग्रेसको आकर्षण र कांग्रेसप्रति जनता र युवाको आकर्षण बनाउन कांग्रेसले अब विधानमा केही नकेही संशोधन गर्नुपर्छ ।’

Published : Tuesday, 2023 December 19, 1:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया