बैंककमा प्रथम विश्व नेपाली हिन्दु एकता सम्मेलन
बैंकक । प्रथम विश्व नेपाली हिन्दु एकता सम्मेलन, थाइल्याडमा भव्य रुपमा सम्पन्न भएको छ ।
थाई–नेपाली संघको केन्द्रीय धार्मिक (सनातन) विभागको आयोजनामा गत २७ नोभेम्वरमा आयोजित सम्मेलनमा नेपाल, म्यान्मा, थाइल्याण्ड, भुटान र अमेरिकाबाट आएका प्रतिनिधिहरू सहभागी भएका थिए ।
त्रिनाथ देवालय, श्रीपोट, बैंककमा प्रमुख अतिथिको रुपमा सम्मेलनलाई सम्बोधन गर्दै विश्व ओमकार एकता महाभियानका संयोजक गुरु डा.चिन्तामणिनाथ योगीले भने, ‘हामीले प्रवासी नेपालीहरुलाई नै मूल आधार बनाएर विश्व नेपाली हिन्दु एकताको अभियान शुरु गरेका छौं ।’
‘बर्मा (म्यान्मार), थाइल्याण्डमा बसोबास गर्ने नेपालीहरूले जसरी नेपाली परम्परा, साधना र अभ्यासको संवर्द्धन, संरक्षण गरिरहेका छन्, त्यो विश्वका लागि नै नमूना हो’, उनले भने, ‘नेपालमा हिन्दु राष्ट्रको स्थापना होस् साथै विश्वभरिका नेपालीहरु हिन्दु जीवन संस्कारतर्फ फर्कन सकुन् भनेर यो ऐतिहासिक सुरुवात भएको छ ।’
‘सनातन धर्म संस्कृति सहितको हिन्दुत्वको नेपालीहरूले नै नेतृत्व गर्नु पर्छ भन्ने सम्मेलनको मुख्य उद्देश्य थियो’, डा.योगीले भने ।
सम्मेलनको आयोजक, थाई–नेपाली संघका अध्यक्ष समाजसेवी कुमार कार्कीले नेपाल बाहिर जन्मिएका नेपालीहरूको पहिचानको लागि तथा नेपाली भाषा र संस्कृति जोगाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताए ।
‘यस्तो सम्मेलन हामी हरेक वर्ष विभिन्न मुलुकमा गर्दै जानेछौं र त्यसका लागि १५ सदस्यीय समिति गठन गरेका छौं’, उनले भने ।
‘म पाँचौं पुस्ताको नेपाली हुँ र नेपाली बोलि रहेको छु’, उनले भने, ‘हामीले नेपालको नागरिकता मागेका छैनौं। विदेशमा बसोबास गरिरहेका हामी जस्ता नेपालीका सन्ततिलाई नेपाल सरकारले पहिचान देओस भन्ने मात्रै हाम्रो माग हो ।’
थाई–नेपाली संघले थाईल्याण्डका विभिन्न क्षेत्रमा धर्मशाला, मन्दिर तथा सामुदायिक भवनहरू निर्माण गरेर धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूका साथै बालबालिकाका लागि नेपाली कक्षा संचालन गर्दै आएको छ ।
विश्व भुटानी हिन्दु संगठनका अध्यक्ष कमल धिमालले सिक्किम, दार्जिलिङ्ग मात्रै हैन मलेसिया, फिजी लगायत संसारभरिका नेपालीहरूलाई एकजुट गर्न र कुनै पनि नेपाली शरणार्थी बन्नु नपरोस भन्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको उनले बताए ।
‘भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षणले मात्रै हाम्रो पहिचान जोगिन सक्छ । हामी एक रहेनौं भने हाम्रो भाषा र धर्म नै मासिने छ । त्यसैले एकताको विकल्प छैन’, उनले भने ।
यसै गरी विश्व भुटानी हिन्दु संगठनका अन्तर्राष्ट्रिय जनसम्पर्क संयोजक नारद अधिकारीले संस्कार, संस्कृति र धर्मलाई कुनै पनि सीमाले छेक्न नसक्ने बताए ।
हाल अमेरिकामा पुनर्वास गराइएका भुटानी नेपालीहरूले ओहायो राज्यमा १५० एकड जमीन किनेर ओम सेन्टर दीव्य धाम निर्माण गरिरहेको पनि उनले बताए ।
‘आजको विश्व नै एक गाउँ बनेको छ । बसुधैव कुटुम्वकम् सनातन धर्मको मूल मर्म हो’, उनले भने, ‘त्यसैले एक अर्कासंग परिचय गर्न र सहकार्य गर्न जरुरी छ ।’
म्यान्माबाट आएका पं.अशोक घिमिरेले सम्मेलनले संसारभरि रहेका नेपाली तथा हिन्दुहरूलाई कसरी एकजुट गर्ने भन्नेबारे बृहत् छलफल गरेको बताए ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया