भारतमा एकै परिवारका पाँच नेपालीको दुर्घटनामा मृत्यु

काठमाडौं । भारतमा भएको सवारी दुर्घटनामा एकै परिवारका पाँच नेपालीको मृत्यु भएको छ ।

बिहीबार राति भारतको कर्नाटक राज्यको गुलवर्गा जिल्लाअन्तर्गत अवजलपुरमा भएको दुर्घटनामा सुर्खेतका पाँच नेपालीहरूको मृत्यु भएको आफन्तले बताएका छन् । चौकुने गाउँपालिका–७ अमलाटाकुराका पाँच जनाको दुर्घटनामा मृत्यु भएको हो ।

मृत्यु हुनेमा चौकुनेस्थित अमालाटाकुराका २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीय अस्मिता, उनका छोराहरू ५ वर्षीय मिलन र २ वर्षीय धड्कन तथा भाइबुहारी सुस्मिता नेवार रहेका छन् ।

उनीहरू रोजगारीका लागि एक वर्षअघि भारत गएका थिए । अस्पतालमा उपचार गराइरहेका छिमेकी दाइलाई भेटेर फर्किने क्रममा बिहीबार राति उनीहरू सवार मोटरसाइकल गोवा जाने मुख्य सडकमा ट्रकसँग ठोक्किएको थियो ।

चौकुने गाउँपालिका–७ का वडाध्यक्ष धनीराम धमालाले मृतक पाँच जनाको शुक्रबार भारतमा नै दाहसंस्कार गरिएको बताएका छन् ।

मृतकलाई भारतमा रहेका रतनका माइला भाइ रमेश नेवारले दागबत्ति दिएका छन् । पीडित परिवारलाई किरिया खर्चबापत वडाले २० हजार रुपियाँ दिने निर्णय गरेको छ । मृतकहरूको काजकिरिया सुर्खेतस्थित गाउँमा हुनेछ ।

Published : Friday, 2023 November 3, 7:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया