प्रधानमन्त्रीलाई घोराही-तुलसीपुर सडकमा सार्वजनिक बसमा चढाउन देवकोटाको प्रस्ताव

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसकी प्रमुख सचेतक अनिता देवकोटाले दाङको घोराही–तुलसीपुर सडक खण्डमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सार्वजनिक यातायातबाट सवार गराउन माग गरेकी छिन् ।

मंगलबार बसेको राष्ट्रय सभाको बैठकमा शून्य समयमा बोल्दै देवकोटाले घोराही–तुलसीपुर सडक जीर्ण र धुलाम्य हुँदा पनि राज्यका निकायको ध्यान पुग्न नसकेको बताइन् । उनले भनेकी छिन्, ‘दाङको घोराही–तुलसीपुर सडक खण्ड अत्यन्तै जीर्ण छ । धुलाम्य छ । सडकका कारण नागरिकले सास्ती व्यहोर्नु परेको छ ।’

‘जोखिमपूर्ण यात्रा गर्दा धेरैको ज्यान गइसकेको छ । सम्बन्धित निकायको ध्यान जान सकेको छैन’, देवकोटाले भनिन्, ‘प्रधानमन्त्री आकाशमार्ग हेलिकप्टरबाट दाङ पुग्नु हुन्छ । घोराही–तुसीपुर सडकको अवस्थाबारे राज्य बेखबर भएको महशुस भएको छ ।’

उनले भनिन्, ‘प्रधानमन्त्री ज्यू दाङको घोराही–तुलसीपुर सडकमा सार्वजनिक यातायातबाट यात्रा गरी दङ्गाली जनता सास्ती महशुस गर्न आग्रह छ ।’

Published : Wednesday, 2023 November 1, 1:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया