परराष्ट्रमन्त्री साउद र अमेरिकी विदेशसचिव ब्लिन्केनबीच भेटवार्ता, सम्मानमा रात्रिभोज

न्युयोर्क । परराष्ट्रमन्त्री नारायणप्रसाद साउद र अमेरिकी विदेश सचिव एन्टोनी जे. ब्लिन्केनसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।

मंगलबार वाशिंगटन, डी.सी.स्थित डिपार्टमेन्ट अफ स्टेटका ब्लिन्केनसँग र साउदबीच द्विपक्षीय सम्बन्धमा परामर्श भएको छ ।
साझा चासोका क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचार आदानप्रदान भएको छ ।

नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धको वर्तमान अवस्थाप्रति सन्तुष्टि व्यक्त गर्दै पारस्परिक हितका क्षेत्रमा संलग्नतालाई विस्तार र प्रगाढ बनाउने प्रतिबद्धता जनाएका छन् ।

नेपाल अतिकम विकसित मुलुकबाट क्रमस वृद्धि भएको सन्दर्भमा परराष्ट्रमन्त्री साउदले अमेरिकाबाट व्यापार तथा लगानी, बजार पहुँच, कृषिको विकास, खाद्य सुरक्षा, विकास लगायत सूचना प्रविधि (आईटी) क्षेत्र र नयाँ प्रविधिका क्षेत्रमा थप सहयोग गर्न आह्वान गरेका छन् ।

साउदले नेपालका लागि नयाँ निर्यातयोग्य वस्तुहरू थपेर नेपाल व्यापार प्राथमिकता कार्यक्रम र जीएसपी सुविधाहरूको पुन: इजाजत र विस्तारका लागि संयुक्त राज्य अमेरिकालाई अनुरोध गरेका छन् ।

मन्त्री साउदले युएसएआईडी र मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)मार्फत हालै अमेरिकी सहयोग लगायत नेपालको सामाजिक आर्थिक विकासमा निरन्तर सहयोग गरेकोमा अमेरिकी सरकारलाई धन्यवाद दिएका छन् ।

दुवै पक्षले एमसीसीअन्तर्गतका परियोजनाहरूको पारस्परिक रुपमा कार्यान्वयनको महत्वमा जोड दिएका छन् ।

प्रजातान्त्रिक शासनको सुदृढीकरणमा नेपालले गरेको प्रगतिको प्रशंसा गर्दै ब्लिन्केनले अमेरिकी सरकार नेपाललाई बलियो र समृद्ध लोकतन्त्रको रुपमा हेर्न चाहेको बताएका छन् ।

विदेश सचिव ब्लिन्केनले परराष्ट्रमन्त्री साउदलाई नेपालको विकास प्रयासमा अमेरिकाले सहयोग जारी राख्ने आश्वासन दिएका छन् ।

मन्त्री साउदले सचिव ब्लिनकेनलाई उपयुक्त समयमा नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । साउदले अमेरिकी परराष्ट्र मन्त्रालयको अतिथि पुस्तकमा हस्ताक्षर पनि गरेका छन् ।

द्विपक्षीय भेटमा मन्त्री साउदका साथमा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री, दूतावासका अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

अमेरिकी विदेश मन्त्रालयका सचिव ब्लिन्केनका साथ सहायक सचिव डोनाल्ड लु, राजदूत डीन थम्पसन र राज्य विभागका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

साँझ राजदूत श्रीधर खत्रीले परराष्ट्रमन्त्री साउदको सम्मानमा आफ्नै निवासमा स्वागत समारोह आयोजना गरेका थिए ।

Published : Tuesday, 2023 October 31, 9:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया